• बुधबार-जेठ-२१-२०८२

कोटिहोममा गुरुङ समुदायको पोसाकमा भागवत मञ्जरी राधिका दासी(तस्बिरसहित)


पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा भागवत मञ्जरी राधिका दासी गुरुङ समुदायको पोसाकमा देखिएकी छन् ।


कोटिहोममा कथा वाचन गरिरहेकी भागवत मञ्जरी राधिका दासी सोमबार गुरुङ समुदायको पोसाकमा कथा वाचन गरिन् । आफू जहाँ गए पनि त्यहाँको संस्कृतिसँग नजिकिने गरेकी राधिका दासीले गुरुङ समुदायको पहिरनमा रहेर कथा वाचन गरेको प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।


कुनै जात विशेष, कुनै धर्म विशेष, कुनै सम्प्रदाय विशेष नभएर नेपाल भित्र रहेका धार्मिक सांस्कृतिक धरोहरलाई विश्वभर चिनाउने उद्देश्य कोटिहोमको रहेको छ । जसको उदाहरण आज कोटिहोममा भागवत मञ्जरी राधिका दासीले प्रस्तुत गरेकी थिइन् । उनी मखमल र भेल भेटको चोलो, घलेक, कटनको लुङ्गी, कालो मखमलको टिकिस, पटुका र मलिनको पछ्यौरी लगाएर पाण्डलमा आएका थिइन् ।


काठमाडौँबाट कोटिहोम दर्शन गर्न आएकी प्रतिनिधि सभा सदस्य पूर्व स्वास्थ्य राज्य मन्त्री डा.तोसिमा कार्कीले कोटिहोम र महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजको खुलेरै प्रशंसा गरिन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय नेता समेत रहेकी उनले पोखरा आफैमा पर्यटकीय राजधानी भएकोले यो कोटिहोमले धार्मिक पर्यटन भित्र्याउन ठुलो मद्दत मिल्ने बताइन् । उनीसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्र देखि जिल्ला तहका नेताले कोटिहोम दर्शन गरेका थिए ।



महायज्ञका प्रचार प्रसार संयोजक लेखराज ढकालका अनुसार महायज्ञ उत्तरार्ध तर्फ आउँदै गर्दा पनि भक्तजनको उपस्थिति दिनहुँ बढ्दो छ । यति वेला गण्डकी प्रदेशमा सार्वजनिक यातायातका साधन बन्द भए पनि भक्तजनको उपस्थिति भने घटेको छैन । 

 

सुरुको अवस्थामा केही विरोधका आवाज आए पनि कोटिहोममा भक्तजनको उपस्थिति देखेर धेरैले सामाजिक सञ्जालमा कोटिहोमको खुलेरै तारिफ गर्ने गरेको प्रचार प्रसार संयोजक ढकालले जानकारी दिए । कोटिहोममा लोक गायिका तथा फाउन्डेसनकी केन्द्रीय उपाध्यक्ष राधिका हमाल र चर्चित लोक दोहोरी गायिका टिका सानुले भजन प्रस्तुत गरी भक्तजन र अतिथिलाई छमछम नचाएका थिए ।

कोटिहोममा भागवत मञ्जरी राधिका दासी कथा वाचन गरिरहेकी छन् । उनले जेठ २६ गते सम्म कथा वाचन गर्नेछिन् । देश विदेशबाट आगमन भएका साधु, सन्त, महन्तले निकै रौनकता थपेको छ । 

 

प्रतिकृया दिनुहोस