२०८२ जेठ १९, भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहत प्रहरी इकाइहरूबाट खटिएको टोलीले पछिल्ला केही दिनमा भारतबाट नेपालतर्फ अबैध रूपमा भन्सार छली गरी चोरी पैठारी गरिएका विभिन्न सामानहरू बरामद गरेको छ। जिल्लाका विभिन्न स्थानहरूमा गरिएको चेकजाँचको क्रममा अन्दाजी रु. ११ लाख २२ हजार १ सय बराबरको मालसामान नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार बरामद सामग्रीहरु भैरहवा भन्सार कार्यालय तथा पशु क्वारेन्टाइन चेकपोष्ट कार्यालय बेलहिया, रुपन्देहीमा बुझाइएको छ। विवरण यस प्रकार छ:
१. पाडा र पिकअपसहित बरामद
मिति २०८२ जेठ १८ गते लुम्बिनी साँस्कृतिक नगरपालिका–६ स्थितबाट लु ३ च ७३३७ नम्बरको बलेरो पिकअपमा ल्याइँदै गरेका ३ वटा पाडा र उक्त पिकअप भ्यान नियन्त्रणमा लिइएको छ। पाडाको अन्दाजी मूल्य रु. ६०,००० र सवारीसाधनको मूल्य रु. ४,५०,००० कायम गरिएको छ। यसरी कुल रु. ५,१०,००० बराबरको सामग्री बरामद भएको हो।
२. चप्पल, चिनी र मोटरसाइकलसहितको बरामद
२०८२ जेठ १७ गते रोहीणी गाउँपालिका–३ बैकुण्ठपुर तथा सिद्धार्थनगर नगरपालिका–६ गल्लामण्डी क्षेत्रबाट दुई वटा मोटरसाइकलहरू (लु ६० प ८९८४ र UP 56 J 7361) सहित ३९ जोर बच्चाको चप्पल-जुता, र ६ बोरा चिनी बरामद गरिएको छ। बरामद सामग्रीको मूल्य अन्दाजी रु. १,९७,५०० रहेको प्रहरीको भनाइ छ।
३. कुखुरा तस्करी नियन्त्रणमा
सुर्यपुरा प्रहरीको टोलीले गैडहवा गाउँपालिका–३ मंगलपुरमा लु १२ प ७९६१ नम्बरको मोटरसाइकल प्रयोग गरी ल्याइँदै गरेको ६४ पिस (१५० के.जी.) बोइलर कुखुरा बरामद गरेको छ। उक्त कुखुराको अनुमानित मूल्य रु. १,२२,००० बराबर रहेको छ।
४. तन्नासहितको मोटरसाइकल बरामद
मझगाँवा प्रहरीको टोलीले कोटहीमाई गाउँपालिका–३ त्रीलोकपुरबाट UP 32 ET 198 नम्बरको मोटरसाइकलमा ल्याइएको ३८ पिस तन्ना बरामद गरेको छ। उक्त सामग्रीको मूल्य अन्दाजी रु. १,३६,६०० रहेको छ।
५. मायादेवीमा चिनीसहितको मोटरसाइकल नियन्त्रणमा
इलाका प्रहरी कार्यालय बेथरीबाट खटिएको टोलीले मायादेवी गाउँपालिका–२ तिलौरीस्थितबाट लु ६६ प ६३६१ नम्बरको मोटरसाइकलमा राखेर ल्याइँदै गरेको ४ बोरा चिनी बरामद गरेको छ। अन्दाजी मूल्य रु. ६६,००० बराबर रहेको छ।
६. मोबाइल कभर बरामद
प्रहरी चौकी कालिदहबाट खटिएको टोलीले लुम्बिनी साँस्कृतिक नगरपालिका–१ बाट ४५० थान मोबाइल कभर बरामद गरेको छ। उक्त वस्तुको अन्दाजी मूल्य रु. ९०,००० रहेको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार यी सबै सामानहरू आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित भन्सार र क्वारेन्टाइन कार्यालयमा बुझाइएको हो। प्रहरी स्रोतले सीमावर्ती क्षेत्रमा निगरानी थप कडाइ गरिएको जानकारी दिएको छ।
प्रतिकृया दिनुहोस