महेन्द्रनगर (धनुषा) : नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मुलुकको विकासका निम्ति दुवै छिमेकी राष्ट्रको साथ एवं सहयोग अपरिहार्य भएको विचार व्यक्त गर्नुुभएको छ ।
चाइना फाउण्डेशन फर रुरल डेभलपमेन्टद्वारा जनकपुरको सरस्वती नमूना माध्यमिक विद्यालयलाई आज शैक्षिक सामग्री हस्तान्तरण गर्दै उहाँले दुवै छिमेकीले हासिल गरेको आर्थिक विकास हाम्रा लागि प्रेरक छ भन्नुभयो । उहाँले दुवै देशको सहयोगबाट मुुलुकलाई विकासको पथमा अग्रसर गराउन सकिने बताउनुभयो ।
देशको सामाजिक–आर्थिक विकासका लागि चीन सरकारबाट निरन्तर सहयोग प्राप्त भएकामा आभार व्यक्त गर्दै नेता पोखरेलले नेपाललाई शिक्षा तथा स्वास्थ्य क्षेत्रको विकासमा सहायता बढाउन आग्रह गर्नुभयो ।
पूर्वमन्त्री जुलीकुमारी महतोले नेपालको भौतिक पूर्वाधारको निर्माणमा चीन सरकारले गरेको सहयोगको सराहना गर्नुभयो । विद्यालयका प्रधानाध्यापक नागेश्वर साहले विद्यालयको शैक्षिक उन्नयनका निम्ति चीन सरकारबाट प्राप्त सहयोगका निम्ति कृतज्ञता ज्ञापन गर्नुभयो ।
नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाका अवसरमा चीन सरकारले सहायता सामग्री हस्तान्तरण गरेको हो । आजै उक्त संस्थाले जनकपुरधामस्थित प्रादेशिक अस्पतालको प्रसूतिगृहलाई चिकित्सा उपकरण प्रदान गरेको छ ।
प्रतिकृया दिनुहोस