• बिहीबार-जेठ-२२-२०८२

हिमाल दक्षिण एसियाकै सभ्यताको जीवन रेखा हो : पूर्वअध्यक्ष रेग्मी

 

काठमाडौँ : मन्त्रीपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले नेपालका हिमशृङ्खला अखण्डरुपमा आइरहने पानीको स्रोत र कसैले पनि हस्तक्षेप गर्न नसक्ने राष्ट्रको पूँजीका रूपमा रहेको बताउनुभएको छ । अठारौँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समितिले आयोजना गरेको ‘पर्वतीय पर्यटनः हाम्रो शान, हाम्रो पहिचान’ विषयक तस्वीर प्रदर्शनको आज अवलोकनपछि उहाँले हाम्रा हिमशृङ्खला नेपालको मात्र नभई दक्षिण एसिया र यस क्षेत्रका सभ्यताको जीवन रेखासमेत रहेको बताउनुभयो ।

 

    पूर्वअध्यक्ष रेग्मीले भन्नुभयो, “विद्युत् उत्पादन, सिँचाइ तथा पिउने पानीलगायतको प्रमुख स्रोत हिमाल नै हो, यो हाम्रा लागि गौरवको विषय हो । मानव जातिको संरक्षण र सम्वर्द्धनका लागि हिमालको भूमिका महत्त्वपूर्ण छ ।” मानव सभ्यताका लागि हिमाली क्षेत्रको संरक्षण र सम्बर्द्धन आवश्यक भएकामा जोड दिँदै उहाँले यसको संरक्षणका लागि विश्वलाई ध्यानाकर्षण गराउनुपर्ने बताउनुभयो ।

 

    “प्रदर्शनीले जलवायु परिवर्तनका कारण हाम्रा सम्पदा र राष्ट्रिय विकासमा परेको प्रभाव, यी सम्पदालाई विश्वमाझ पु¥याएर कति लाभ लियौँ र आगामी दिनमा के गर्नुपर्छ भन्ने सन्देश दिएको छ”, उहाँले भन्नुभयो, “नयाँ योजना निर्माण गर्न र जलवायु परिवर्तनबाट पहिले र अहिलेको हिमालको स्थिति तुलना गरेर यसलाई संरक्षण गर्न विश्वसमुदायलाई झक्झक्याउन सकिन्छ ।”

 

    सरोकारवाला निकायलाई हेर्न, बुझ्न र आगामी योजना बनाउन यस्ता प्रदर्शनीले सहयोगसिद्ध हुने उहाँको भनाइ छ । प्रदर्शनीले विभिन्न पर्यटकीय स्थलको परिचयसँगै नेपालका हिमाली र पहाडी सौन्दर्यलाई उजागार गरेको उहाँले बताउनुभयो ।

 

    त्यसअघि राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले उहाँलाई स्वागत गर्दैै गणतन्त्र दिवसका अवसरमा आयोजना गरिएको प्रदर्शनीले नेपालका हिमालको महत्त्व र यसको सौन्दर्यताबारे उजागार गर्न तथा नेपालमा केही छैन भन्ने भाष्यलाई चिर्न सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
 

प्रतिकृया दिनुहोस