• शनिबार-जेठ-२४-२०८२

परिकल्पना गरेअनुसार पूर्वाधार विकास भइरहेको छ : उपप्रधानमन्त्री सिंह

 

गोदावरी (कैलाली) : उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले पूर्वाधार विकासमा वर्तमान सरकारले परिकल्पना गरेअनुसार काम भइरहेको बताउनु भएको छ । 

 

    आज गोदावरी नगरपालिका–३ चौकीडाँडामा एसियाली विकास बैङ्कको ऋण सहयोगमा निर्माण गरिएको एकीकृत फोहोरमैला व्यवस्थापन प्रणालीको उद्घाटन  कार्यक्रममा उहाँले देशभरको पूर्वाधार विकास निर्माणमा सङ्घीय सरकार, स्थानीय तह र दातृनिकायको सहयोगमा उल्लेख्य काम भइरहेको बताउनुभयो ।

 

    सरकारले नयाँ सहर निर्माणका लागि एकीकृत सहरी खाका तयार गरी अघि बढिरहेको उहाँले बताउनुभयो । उहाँले देशका १८५ वटा नगरपालिकाको एकीकृत सहरी योजना तयार पारिएको जानकारी दिनुभयो ।

 

    उहाँका अनुसार तराई मधेसका सहरको आर्थिक अवस्था चलायमान बनाउन सहरी विकास मन्त्रालयले सो क्षेत्रका नगरपालिकामा एक हजार किलोमिटर बढी सडक र ढल निर्माण गरिरहेको छ ।

 

    उपप्रधानमन्त्री सिंहले मन्त्रालयले आवास विहीनका लागि जनता आवास निर्माण र सुरक्षित आवास निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । 

 

    सुदूरपश्चिममा उक्त परियोजना नमूनाको रूपमा रहेको बताउँदै उहाँले एकीकृत फोहोरमैला व्यवस्थापन, दिसाजन्य पदार्थ प्रशोधन प्रणालीले गोदावरी नगरपालिकालाई सफा र व्यवस्थित सहरका रूपमा चिनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

 

    एसियाली विकास बैङ्क (एडिबी)को ऋण अनुदान सहयोग र नेपाल सरकारको सहकार्यमा क्षेत्रीय सहरी विकास आयोजना कार्यालय धनगढीको संयोजनमा निर्माण गरिएको सो केन्द्र रु ५२ करोड ८४ लाखको लागतमा सम्पन्न भएको हो । 

 

    उक्त परियोजनामा ७५ प्रतिशत रकम एडिबीको ऋण र बाँकी २५ प्रतिशत नेपाल सरकारको लगानी छ । फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणको ठेक्का चीनको सिचुवान प्रोभेन्सियल जियोलोजिकल इन्जिनियरिङ कम्प्लेक्सलाई दिइएको थियो । भण्डै पाँच हेक्टर क्षेत्रफलमा फैलिएको सो केन्द्र तीन वर्षसम्म निर्माण कम्पनीकै व्यवस्थापनमा रहनेछ भने उक्त अवधिपछि गोदावरी नगरपालिकालाई हस्तान्तरण गरिने सम्झौतामा उल्लेख छ ।

 

    सो केन्द्रले दैनिक १३.५ टन फोहोर व्यवस्थापन र प्रतिदिन १३ घनमिटर दिसाजन्य फोहोर प्रशोधन गर्ने सहरी विकास भवन निर्माण विभागका महानिर्देशक बज्रकाजी महर्जनले बताउनुभयो ।

प्रतिकृया दिनुहोस