• सोमबार-जेठ-२६-२०८२

थाहा पाउनुहोस् : भवानीशङ्करको वार्षिक एक करोडभन्दा बढीको माछा कारोबार

 

पाल्हीनन्दन (नवलपरासी, बसुप), २५ जेठ : पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–१ का भवानीशङ्कर यादवले व्यावसायिक माछापालन गरी वार्षिक रु एक करोडभन्दा बढीको कारोबार गरिरहनुभएको छ । भारतको आन्ध्र प्रदेशबाट माछापालनसम्बन्धी तालिममा हासिल गरेको अनुभवको प्रयोग गर्दै उहाँले माछापालन गरेर गाउँमै उदाहरण पेस गर्नुभएको छ । 

 

सोह्र बिघा जग्गामा २० वटा पोखरी बनाएर व्यावसायिक माछापालन गरिरहेको ४८ वर्षीय यादवले बैखी कार्प माछा पालन गर्नुभएको छ । पोखरीमा रहेका माछालाई चरालगायत कुनै पनि चिजले खान नपाउन् भनेर जाल जाली लगाइएको छ । 

 

वैदेशिक रोजगारमा जानुभन्दा स्वदेशमै व्यवसाय गर्नुपर्छ भन्ने उद्देश्य बोकेर एकवा रिसर्च प्रालि र अरुण एकीकृत कृषि फर्म दर्ता गरेर आफूले व्यावसायिक माछापालन गरेको र यसबाट वार्षिक रु एक करोडभन्दा बढी कारोबार गरी राम्रो आम्दानी गरिरहेको बताउनुभयो । पछिल्लो समय भारतबाट अवैध रूपमा माछा ल्याएर भारतीय व्यापारीले सीमा क्षेत्रमा प्रतिकिलो रु १५० का दरले बिक्री गर्न थालेपछि भने समस्या भएको उहाँको भनाइ छ । यस वर्ष माछा उत्पादनसँगै बजारीकरणमा कुनै समस्या नभए लक्ष्यअनुसार नै कारोबार हुने यादवको अपेक्षा छ । 

 

माछापालन व्यवसाय सुरु गर्नुअघि उहाँले भैँसीपालन गरिरहनुभएको थियो । उहाँसँग ४० वटा भैँसी रहेका थिए । आफू किसानको छोरा भएकाले वैदेशिक रोजगारमा गएर मेहनत गर्नुभन्दा आफ्नै देशमा कृषि कर्म गरेर खानु राम्रो हुने भनेर यसैमा रमाइरहेको बताउने यादव पछिल्लो समय भने माछापालनमा जुटेको बताउनुहुन्छ ।

 

प्रतापपुर गाउँपालिका–१ का वडाध्यक्ष महेन्द्रबहादुर थारू चौधरीले वैदेशिक रोजगारमा जानुभन्दा स्वदेशमै व्यावसायिक काम गर्नु सराहनीय भएको बताउनुभयो । पालिकाले पनि स्वरोजगारमूलक कार्यक्रम सञ्चालनका लागि पहल गरे पनि धेरैले चासो नदिने गरेको उहाँले सुनाउनुभयो । 

 

भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रका प्रमुख श्रवण चौधरीले जिल्लामा नौ कट्ठाभन्दा बढी जग्गामा १४४ जनाले व्यावसायिक रूपमा माछापालन गरिरहेका बताउनुभयो । माछापालनमा राम्रो सम्भावना भएकाले यसतर्फ व्यावसायिक किसानहरूको आकर्षण बढिरहेको उहाँको भनाइ छ । 
---

 

 

प्रतिकृया दिनुहोस