• सोमबार-जेठ-२६-२०८२

भारत सरकारको सहयोगमा छात्रावास भवन निर्माण हुने


काठमाडौँ, २६ जेठ : भारत सरकारको सहयोगमा मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित दिव्य दीप माध्यमिक विद्यालयको छात्रावास भवन तथा चमेना गृह निर्माण हुने भएको छ ।

    सो छात्रावास भवन तथा चमेना गृहको शिलान्यास आज भारतीय राजदूतावासका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तव र लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङले संयुक्त रूपमा गर्नुभयो ।

    उपप्रमुख श्रीवास्तवले वर्षौँदेखिको भारत–नेपाल विकास साझेदारीको वृद्धि, विस्तार र विविधीकरणमा खुसी व्यक्त गर्नुभयो । उहाँले नेपाल सरकार र नेपाली जनताको प्राथमिकतामा आधारित रही साझेदारीलाई थप प्रगाढ र सुदृढ पार्ने भारत सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।

    लोमान्थाङ गाउँपालिकाका अध्यक्ष, राजनीतिक प्रतिनिधिहरू, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा अन्य सरोकारवालाले भारत सरकारको सहयोगको प्रशंसा गरे । 

    उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधिहरू, सरकारी अधिकारीहरू, सामाजिक कार्यकर्ता र शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उपस्थिति रहेको दूतावासले जनाएको छ । ‘नेपाल–भारत विकास सहयोगअन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा रु तीन करोड ७६ लाख परियोजना लागतमा छात्रावास भवन तथा चमेना गृह निर्माण हुने भएको छ । 

    यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसीडीपी)को रूपमा लिइएको छ । उक्त विद्यालय माथिल्लो मुस्ताङमा रहेको एक मात्र उच्च माध्यमिक विद्यालय हो । यस विद्यालयमा लो–घेकर दामोदरकुण्ड गाउँपालिका र लोमान्थाङ गाउँपालिकाका बालबालिका अध्ययनरत छन् । 

    मुस्ताङमा जारी भ्रमणका क्रममा नियोग उपप्रमुखले  लोमान्थाङस्थित लोवो निफुग नामड्रोल नोर्वुलिङ्ग मोनास्टिक स्कूलको समेत भ्रमण गर्नुभएको दूतावासले जनाएको छ । यस स्कूलको छात्रावास भवन पनि भारत सरकारको रु चार करोड १४ लाख परियोजना लागतमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाका रुपमा निर्माण भइरहेको छ । 

    सन् २००३ यता भारत सरकारले नेपालमा शिक्षा, स्वास्थ्य, सडक र पुल, नदी तालिम, खानेपानी, विद्युतीकरण, कृषि, संस्कृति र समाज कल्याणलगायत विभिन्न क्षेत्रहरूमा ५७३ एचआइसीडीपी अन्तर्गत सहयोग गर्दै आएको छ । यी परियोजनाहरू सातै प्रदेशमा फैलिएका छन् । ५७३ परियोजनाहरू मध्ये ५९ वटा परियोजनाहरू गण्डकी प्रदेशमा छन् जसमध्ये मुस्ताङमा १७ वटा परियोजनाहरू छन् ।
 

प्रतिकृया दिनुहोस