इस्लामवाद, २६ जेठ । पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा तहरीक–ए–इन्साफ (पीटीआई) का संस्थापक इमरान खानलाई जुन ११ मा अल–कादिर ट्रस्ट मुद्दामा राहत मिल्न सक्ने दावी गरिएको छ ।
उनको पार्टीका शीर्ष नेताहरूले इस्लामाबाद उच्च अदालतले इमरान खान र उनकी पत्नी बुशरा बीबीको सजाय निलम्बन गर्ने याचिकाहरू त्यस दिन सुन्ने र उनीहरूलाई जमानत पाउने सम्भावना रहेको दावी गरेका हुन ।
७२ वर्षीय इमरान खान अगस्ट २०२३ देखि अदियाला जेलमा रहेका छन् र उनीविरुद्ध धेरै आपराधिक मुद्दाहरू विचाराधीन रहेका छन् । मुख्यगरी, अल–कादिर ट्रस्ट मुद्दा यी मामिलाहरूमध्ये सबैभन्दा उच्च प्रोफाइल हो, जसमा पूर्व प्रधानमन्त्री र उनकी पत्नीलाई भ्रष्टाचारको गम्भीर आरोप लगाइएको छ ।
पीटीआईका प्रख्यात वकिल र नेता गौहर अली खानले जुन ११ पार्टीका संस्थापक र उनकी पत्नीका लागि महत्त्वपूर्ण दिन साबित हुनसक्ने बताए । धरौटीमा रिहा हुनुको ठोस कारण नखुले पनि अदालतबाट अवश्य राहत पाउने विश्वास व्यक्त गरेका छन् ।
यो मुद्दा युनाइटेड किंगडमको राष्ट्रिय अपराध एजेन्सी (एनसीए) द्वारा सम्पत्ति व्यावसायी मलिक रियाजको परिवारबाट १९० मिलियन पाउन्डको रकमसँग सम्बन्धित रहेको छ । यो रकम पाकिस्तानको राष्ट्रिय कोषमा जम्मा गर्नुको सट्टा इमरान खानको सरकारले मलिक रियाजको कम्पनी बहरिया टाउनको दायित्वबाट समायोजन गरेको आरोप छ ।
यस तथाकथित सम्झौताको बदलामा मलिक रियाजले कराचीको बाहिरी भागमा सयौं एकड जमिन अल–कादिर ट्रस्टलाई दान दिएका थिए, जसका ट्रस्टीहरू इमरान खान र उनकी पत्नी बुशरा बीबी हुन् । जसका कारण, यस लेनदेनमा भ्रष्टाचार र शक्तिको दुरुपयोगको आरोप लगाइएको छ ।
राष्ट्रिय उत्तरदायित्व ब्यूरो (एनएबी) ले यस विषयमा अनुसन्धान गरिरहेको छ । यस अनुसन्धानका सम्बन्धमा अदालतमा निवेदन परेको छ, जसको सुनुवाई अब जुन ११ मा हुने भएको छ ।
प्रतिकृया दिनुहोस