• सोमबार-जेठ-२६-२०८२

टुहुरो पार्टीको अबको अध्यक्ष को ? 

 

काठमाडौं । माधव नेपालमाथि पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा लागेपछि एकीकृत समाजवादीभित्र भने नयाँ तरंग उत्पन्न भएको छ । पार्टी अध्यक्षविरुद्ध नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेपछि एसका नेताहरु नेपालको भूमिका के  होला भन्ने चासोमा रहेका छन् । विगत लामो समयदेखि एसभित्र  दुुईवटा धार देखिएको थियो । त्यहीकारण अहिले त्यो धारमध्ये कसले नेतृत्व पाउने भन्ने चासो पनि रहेको छ  । 


 भ्रष्टाचारको मुद्दा लागेपछि सार्वजनिक पदमा बस्न मिल्दैन । कानूनले सांसद पद पनि निलम्बनमा पारिसकेको छ । त्यसैले, पार्टीको अध्यक्षबाट पनि नेपालले छोड्नुपर्ने तर्क पार्टीभित्र उठ्न थालेको छ । कानूनले सांसदको जस्तो अध्यक्ष पद पनि छोड्नुपर्छ भन्ने व्याख्या गरेको छैन । तर, सार्वजनिक पदमा बस्न नमिल्ने भनेका कारणले गर्दा पार्टीको अध्यक्ष पनि सार्वजनिक पद भएकोले नेपालले के गर्छन् ? भन्ने चासो रहेको छ ।


अध्यक्षबाट नेपालले राजीनामा दिएमा वा कार्यबाहक अध्यक्ष तोके कसलाई अगाडि सार्छन् ? भन्ने चासो देखिएको हो । एसभित्र चर्चा पनि हुन थालेको छ । कार्यवाहक अध्यक्षको भूमिकामा राजेन्द्र पाण्डे हुने अनुमान भइरहेको छ । वरिष्ठ उपाध्यक्ष रहेका पाण्डेलाई कार्यवाहक दिन सक्ने अनुमान भइरहे पनि उनलाई अस्वीकार गर्नेको समूह पनि ठूलो रहेको छ । त्यसबाहेक उनीभन्दा वरिष्ठ नेता पनि भएको भन्दै उनको टिप्पणी भइरहेको छ । 


अध्यक्ष नेपालले आफू  नभएको बेलामा कार्यवाहक अध्यक्षको भूमिका पाण्डेले पाउने गरेका थिए । वरिष्ठ उपाध्यक्ष भएकोले उनले उक्त भूमिका पाउने गरेका थिए । सांसद पनि रहेका कारणले गर्दा पनि पाण्डेको नाममा चर्चा भएको हो । तर, अर्को पक्षले  भने झलनाथ खनाललाई अध्यक्ष बनाउनुपर्ने तर्क अघि सारेको छ । उनी वरीयतामा अध्यक्ष नेपालपछि दोस्रो रहेका छन् । 
 पार्टीको नेतृत्व गरिसकेका र पूर्व प्रधानमन्त्रीसमेत रहेका खनाल अध्यक्ष नेपालको समान हैसियतमा रहेका छन् । सोहीकारण पार्टीको छवि र विश्वास कायम राख्नका लागि पनि खनाललाई अगाडि सार्नुपर्ने लाइन एसभित्र रहेको छ । 


तर, अध्यक्ष नेपाल भने आफूलाई अप्ठ्यारो नपर्ने  गरी जिम्मा दिन खोजिरहेका छन् । विगतमा त्यसरी जिम्मा दिँदा नेतृत्वमा आफू फर्किन नै नसकेको अनुभव नेपालसँग रहेको छ । ०६४ सालमा तत्कालीन एमालेको महासचिवबाट राजीनामा दिएर झलनाथ खनाललाई सुम्पेका थिए । 


  त्यसपछि नेपाल नेतृत्वमा फर्किनै सकेनन् । उनले एमालेको नेतृत्वमा फर्किन अनेक प्रयास गर्दा पनि असफल भए । त्यही असफलताले नै पार्टी विभाजनसम्म पु¥याएको बुझाई एसका नेताहरुमा रहेको छ । सोहीकारण अहिले नेपालले नेतृत्व छोड्नुपर्दा  भोलि आफूले सर्फा पाएमा फर्किन सजिलो हुने गरी नै छोड्ने रणनीतिमा देखिएको उनी निकट स्रोत बताउछ । स्रोत भन्छ, यहीकारण उनी नेतृत्व छोड्ने वा नछोड्ने भन्ने विषयमा अन्यौलमा देखिन्छन् । (साँघु साप्ताहिक, २०८२ जेठ १९) 
 

प्रतिकृया दिनुहोस