• शनिबार-जेठ-३१-२०८२

'बुक फ्रि फ्राइडे' : किताबभन्दा बाहिरको संसारसँग जोडिँदै विद्यार्थी

म्याग्दी, जेठ ३१ — किताबका पानाहरू पल्टाएर मात्र होइन, जीवनका रंगहरूमा रंगिएर सिक्ने अनुपम अवसर सिर्जना गरेको छ बेनी नगरपालिका–१०, वाखेतस्थित श्री विद्योदय आधारभूत विद्यालयले। विद्यालयले सुरु गरेको ‘बुक फ्रि फ्राइडे’ नामक नवप्रवर्तनशील अभियानले विद्यार्थीहरूलाई पाठ्यपुस्तकको साँघुरो घेराबाट मुक्त गराउँदै सृजनशीलता, आत्मविश्वास र जीवन सीपको अभ्यासमा अग्रसर गराएको छ।

किताबभन्दा बाहिरको कक्षा

२०८२ जेठ ३० गते शुक्रबारको दिन, विद्यालयको कौसीमा हाउसअनुसार विद्यार्थीहरूको समूह बनाएर उनीहरूले माटो, कम्पोस्ट मल र बालुवाको मिश्रण तयार गरे। त्यसपछि प्रयोगमा नआएका बोरा र काठका फ्रेममा मौसमी तरकारीका बिरुवा रोपिए—फर्सी, भिन्डी, मुला, सिमी, खुर्सानीजस्ता। कृषिमा श्रम, सीप र विज्ञानको संयोजनमार्फत विद्यार्थीहरू व्यवहारिक ज्ञान सिकिरहेका छन्।

विद्यालयका प्रधानाध्यापक प्रकाश अधिकारी भन्छन्, “हाम्रो प्राथमिकता सधैं विद्यार्थीको सर्वाङ्गीण विकास हो। ‘बुक फ्रि फ्राइडे’ बाट बालबालिकाले केवल किताबी ज्ञान होइन, जीवनका असली पाठहरू सिक्न पाएका छन्।”

श्रम, नेतृत्व र समुदायको साथ


विद्यालय व्यवस्थापन समिति अध्यक्ष टिका बहादुर पाइजा का अनुसार, "श्रम र उत्पादनसँग जोडिएको शिक्षा नै दीर्घकालीन परिवर्तनको आधार हो।" वडा नम्बर १० का अध्यक्ष मस्बीर रोका ले विद्यालयको यो प्रयासप्रति वडा कार्यालयको पूर्ण साथ रहने उल्लेख गर्दै भने, “शिक्षा केवल किताबसम्म सीमित हुनुहुँदैन। यस्तो व्यवहारिक अभ्यासले बालबालिकामा नेतृत्व, श्रमशीलता र जीवन बुझ्ने चेत विकास गर्छ।”

बच्चाहरूको उत्साह र व्यवहारमा परिवर्तन


विद्यालय इन्चार्ज शोभाकान्त लामिछाने भन्छन्, “बालबालिकालाई जिम्मेवार, आत्मनिर्भर र जीवनोपयोगी सीप सिकाउन यो अभियान निकै प्रभावकारी भएको छ।” संयोजक शिक्षिका अमृता जिसी रोका ले बालबालिकाको लुकेको प्रतिभा उजागर गर्न ‘बुक फ्रि फ्राइडे’ को भूमिका महत्त्वपूर्ण भएको बताइन्।

विद्योदय बाल क्लबकी अध्यक्ष कक्षा ८ की छात्रा सुप्रिया पाइजा भन्छिन्, “किताब पढ्दा कहिलेकाहीं थकान हुन्थ्यो, तर आफैंले बिरुवा रोप्दा रमाइलो लाग्छ। हामीले प्रकृतिलाई बुझ्न पाएका छौं।”

एक अभिभावक खमिसरा बुुढाथोकी पाइजा भन्छिन्, “पहिला छोरा केवल किताब पढ्थ्यो। अहिले भने स्कुलबाट फर्केर के रोप्यो, के अनुभव गर्‍यो भनेर सुनाउँछ। यो परिवर्तनले खुसी बनाएको छ।”

अर्को चरण : फूलबारीदेखि पत्रकारिता र खेलकुदसम्म

अभियानको पहिलो चरणमा कृषिलाई प्राथमिकता दिइएको छ। आगामी चरणमा विद्यार्थीहरूले कौसीमा तरकारी उत्पादनलाई निरन्तरता दिँदै फूलबारी सजाउने, बगैंचा स्याहार, स्वच्छता अभियान, चित्रकला, हस्तकला, कविता लेखन, पत्रकारिता, उद्घोषण, वक्तृत्वकला, खेलकुद र सांस्कृतिक गतिविधिमा सहभागी हुनेछन्।

सन्देश : व्यवहारिक शिक्षा नै समावेशी शिक्षाको मूल आधार


वि.सं. २०२२ मा स्थापना भएको श्री विद्योदय आधारभूत विद्यालयमा बालविकासदेखि कक्षा ८ सम्म ७७ जना विद्यार्थी छन्। विद्यालयमा ११ जना शिक्षक तथा कर्मचारी कार्यरत छन्।

'बुक फ्रि फ्राइडे' अभियानको माध्यमबाट विद्यालयले समुदाय, जीवन र शिक्षाबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै सीपमूलक, नैतिक र व्यवहारिक शिक्षाको राष्ट्रिय लक्ष्य साकार पार्न अग्रसर रहेको छ।

विद्यालयले अभियानको दीर्घकालीन निरन्तरताका लागि अभिभावक, शिक्षक, समुदाय र सरोकारवालाहरूको सक्रिय साझेदारी अपरिहार्य रहेको भन्दै यो प्रेरणादायी यात्रामा हातेमालो गर्न सबैमा आह्वान गरेको छ।

 

प्रतिकृया दिनुहोस