• आइतबार-असार-१-२०८२

भिरको साहस, तर महको संकट : म्याग्दीमा ७५% ले घट्यो भिरमह उत्पादन

'भिरका गोला रित्तिए, सिकारीको पसिना सुक्यो'

 

म्याग्दी, ३१ जेठ : म्याग्दीमा यस वर्ष भिरमह उत्पादन घटेको छ । विगतको तुलनामा ७५ प्रतिशत कम मह उत्पादन भएको मह सिकारीहरूले बताएका छन् । 

 

अन्नपूूर्ण गाउँपालिका–५ स्वाँतका मह सिकारी लोकबहादुर पाइजाले अघिल्लो वर्ष एक हजार लिटर मह निकालिएकोमा यसपाली २०० लिटर मात्र मह उत्पादन भएको बताउनुभयो । पाइजाको टोलीले स्वाँत गाउँ नजिकै रहेको छहरीभिर र छिसको टाउकोमा दुई दिन मह सिकार गरेका थिए । 

 

हिउँदको खडेरी र मह निकाल्ने समयमा भएको बर्सातका कारण मौरी चरन क्षेत्रमा जान नपाउँदा गोलाको मह खाएकाले उत्पादन कम भएको पाइजाले बताउनुभयो । म्याग्दीको अन्नपूर्ण, रघुगङ्गा र धौलागिरि गाउँपालिकाको लेकाली क्षेत्रमा भिरपहरामा जेठ महिनामा मह सिकार गर्ने चलन छ । 

 

वसन्त र शरद् ऋतु मह सिकारका लागि उपयुक्त समय मानिन्छ । वसन्त ऋतुमा बेँसी र शरद्मा लेकमा पुगेर भिरमह निकाल्न उपयुक्त समय हो । गत वर्ष दुई हजार लिटर मह निकालेको धौलागिरि गाउँपालिका–२ खोरीयाका मह सिकारी मोतीप्रसाद पाइजाको टोलीले यस वर्ष ५०० लिटर मात्र निकालेको छ । 

 

धौलागिरिको गुुर्जा, मुदी, रघुगङ्गाको चिमखोला, कुइनेमङ्गले, अन्नपूूर्णको हिस्तानमा रहेका भिरमा मह सिकार गर्न गएका सिकारी टोलीहरुले पनि मह उत्पादन घटेको बताएका छन् । खोल्साको नजिकैको ओसेपिलो ठाउँको अक्करे पहाडको बीच भागमा भिरमौरीको वासस्थान हुन्छ । वनजङ्गलमा फुल्ने फूल भिरमौरीको आहरा हो । हिउँदमा न्यानो खोज्दै बेँसी झर्ने भिरमौरी गर्मी बढ्न थालेसँगै माथिल्लो क्षेत्रमा बसाइँसराइ गर्छन् । 

 

डोरीको सहायताले डरलाग्दो भिरमा झुन्डिएर निकालिने भिरमह प्रतिलिटर रु तीन हजारदेखि रु तीन हजार ५०० का दरले भिरमह बिक्री हुने गर्छ । स्वादिलो, स्वास्थ्यका लागि हितकर र शक्तिवद्र्धक मानिने भिरमह धार्मिक कार्यका लागि पनि प्रयोग हुुन्छ । 

 

विदेश गएका र सहरमा बस्नेहरुले भिरमह कोसेलीका रुपमा लैजाने गर्छन् । भिरमा भिरमौरीले लगाएका गोला काट्नका लागि मह सिकारी डोरी (पराङ) मा झुन्डिएर मह सिकार गर्ने गर्दछन् । मह निकाल्नका लागि भिरको माथिल्लो भाग र तल्लो भागमा दुई समूहमा सिकारी बाँडिएका हुन्छन् । एक समूहले भिरको माथिबाट तल भुइँसम्म डोरी (स्थानीय भाषामा परङ) झुन्ड्याउँछन् भने भिरको तलपट्टी रहेको अर्को समूहले मह थाप्ने र स्याहार्ने गर्दछन् ।

 

महको चाका वरिपरि मौरी घेरिएर बसेका हुन्छन् । धुवाँ लगाइदिए पछि मौरी भाग्छन् । त्यतिबेला मह निकाल्न विशेष ध्यान पु¥याउनुपर्छ । जब परङमार्फत गएका सिकारीले गोलामा धुवाँ झोस्न सुरु गर्छन् मौरीले टोक्ने डरले वरपरका सबै सिकारी रूख र ओडारमा लुक्छन् । 

 

मौरी अन्यत्रै भागेपछि मात्र उनीहरुलाई बाहिर आएर मह निकाल्न सजिलो हुने गर्छ । मुख्य सिकारीले हतियार प्रयोग गरी निकालेको महको भाँडालाई डोरीको सहायताले भुइँसम्म ल्याउने गरिन्छ । 
---

 

 

प्रतिकृया दिनुहोस