काठमाडौं । पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटमा तीन करोड रुपैयाँभन्दा कम लागतका आयोजना राखेकोमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलप्रति आलोचना गरेका छन् ।
आइतबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै डा.महतले तीन करोडभन्दा तलको आयोजना प्रस्तावित नगर्ने कार्यविधि पालना नभएको उल्लेख गरेका हुन् ।
उनले भने, ‘संघीय बजेटले तीन करोडभन्दा तलको आयोजना प्रस्तावित नगर्ने जुन कार्यविधि बनाएका थियौँ त्यो कार्यविधिलाई कार्यान्वयन गर्ने कोसिस गरेको छ । तरपनि तीन करोडको जुन सीमामा बजेट विनियोजन गर्ने, कम्तिमा पनि तीन करोडभन्दा तल बजेट नराख्ने कुरामा जति अर्थमन्त्रीजी त्यसमा अझ सशक्त हुनुपथ्र्यो भएको देखिएन् । त्यसमा कतिपय बजेट प्रस्तावहरू तीन करोड नै रहेको अवस्था छ ।
देशको आवश्यकता बजेटमा अनुशासन, विनियोजनमा अनुशासन र परिणाममुखी विनियोजन नै हो । त्यसबाट मात्रै आर्थिक वृद्धिको लक्ष्यमा सरकारी लगानीले योगदान गर्न सक्छ । आउँदा दिनमा सरकार अझ सशक्त ढङ्गबाट बजेट कार्यान्वयनको सिलसिलामा परिणाममुखी आयोजनाहरूलाई प्राथमिकतामा राखेर कार्यान्वयन गर्नुपर्छ भन्ने मलाई लागेको छ ।’
साथै उनले आगामी बजेटले विनियोजन अराजकता र अनुशासनहीनता पनि अन्त्य गरेको बताए । उनले आउँदा दिनमा सरकारले अझ सशक्त ढङ्गबाट बजेट कार्यान्वयनको सिलसिलामा परिणाममुखी आयोजनाहरूलाई प्राथमिकतामा राखेर कार्यान्वयन गर्नुपर्ने बताए ।
प्रतिकृया दिनुहोस