• सोमबार-असार-२-२०८२

मङ्गलसेनमा फोहोर व्यवस्थापनमा ढिलाइ, सामुदायिक वनमा थुप्रियो फोहोर


अछाम, १ असार : अछामको मङ्गलसेन नगरपालिकाले आफ्न्नो नगरको फोहोरको व्यवस्थापन गर्न नसक्दा समस्या उत्पन्न भएको छ । मङ्गलसेन बजारभित्रको सबै फोहोर मध्यपहाडी राजमार्गअन्तर्गत ठूलासैन–मङ्गलसेन सडक खण्डमा पर्ने पालेवन सामुदायिक वनमा फाल्दा समस्या भएको हो ।

 

मङ्गलसेन नगरपालिका–६ को मानव बस्तीको बीचमा नगरपालिकाले डम्पिङ साइट निर्माण गरेको थियोे । नागरिकलाई असर हुने भएपछि उक्त डम्पिङ साइट अलपत्र अवस्थामा छ । पालेवन सामुदायिक वन क्षेत्रमा अहिले फोहोरको थुर्पो देख्न सकिन्छ । बजार क्षेत्रबाट निस्किने फोहोर अहिले जङ्गलको सडक छेउछाउमा थुपारिएको छ । घरबाट निस्कने फोहोर मात्रै होइन पसल, होटेलबाट निस्किने फोहोर प्लास्टिक, ब्वायलर कखुराको भुत्ला, मदिराका बोतलहरु लगायतका फोहोरले वन क्षेत्र दुर्गन्धित एवम् फोहोर भएको छ ।

 

यसरी जताभावी फोहोर फालिँदा जङ्गल नै कुरुप मात्र होइन, स्वास्थ्यको जोखिम बढेको स्थानीयले बताएका छन् । कुहिने र नकुहिने फोहोर एकै ठाउँमा हुँदा झन् सडक आसपासमा दुर्गन्ध फैलिने गरेको छ  । फोहोर हटाउन र त्यहाँ नफाल्न पालेवन सामुदायिक वन उपभोक्ता समितिको बैठकबाट निर्णय गरी पटकपटक नगरपालिकालाई पत्राचार गर्दा पनि नगरपालिकाले कुनै सुनुवाइ नगरेको पालेवन सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष यज्ञप्रसाद ढुङ्गानाले बताउनुभयो । करिब एक वर्षदेखि फोहोर त्यहाँ फाल्ने गरेको उहाँले बताउनुभयो ।
–––

 

प्रतिकृया दिनुहोस