काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भित्र पछिल्ला दिनमा कार्यबाहक अध्यक्षभन्दा पनि उपसभापति स्वर्णिम वाग्ले फ्रन्टलाइनमा देखिन थालेका छन् । संसदीय मोर्चामा फ्रन्टलाइनमा वाग्ले देखिन थालेपछि रास्वपाभित्र के खिचडी पाक्दैछ भन्ने चासोको विषय बनेको छ । हरेकजसो छलफलमा कार्यबाहक सभापति डीपी अर्याल भन्दा पनि वाग्लेको सक्रियताले यस्तो चासो देखाएको हो । रास्वपाभित्र गुटबन्दी चरम बन्दै गएको र त्यो गुटबन्दीको प्रभाव अहिले प्रत्यक्ष देखिन थालेको चर्चा गरिन्छ । त्यही कारणले गर्दा पनि भिजिट भिसा प्रकरणमा रास्वपा अलमलमा परेको आरोप लागेको छ । पहिला श्रममन्त्री भइसकेका अर्याल यो विषयमा मौन देखिएका छन् । सार्वजनिक टिप्पणीमा देखिएका छैनन् तर वाग्ले र सुमनाहरु भने फ्रन्टलाइनमा देखिएका छन् ।
त्यसले मुख्यगरी पार्टीका संसदीय दलको नेता कसलाई बनाउने भन्ने एजेण्डाले काम गरेको बताइएको छ । वाग्ले र अर्यालको शीतयुद्ध त्यहीसँग जोडिएको बताइन्छ । अर्याल अहिले नबोलेर नै पार्टीभित्र प्रभाव विस्तार गर्ने र संसदीय दलको नेता हुने लाइनमा रहेका छन् । अर्कातिर वाग्ले भने जसरी पनि ससदीय दलको नेता हुने लाइनमा रहेका छन् । एक व्यक्ति एक पदको अवधारणा अनुसार वाग्लेले दलको नेता दाबी गरेका छन् । एक व्यक्ति एक पदको माग गरेर नै सुमना श्रेष्ठले सहमहामन्त्रीबाट राजीनामा दिएकी हुन् । यो राजीनामा पनि वाग्लेहरुको रणनीतिमा अर्यालमाथि नैतिक दबाब बढाउन गरिएको विश्लेषण भइरहेको छ । सहमहामन्त्रीबाट दिएको श्रेष्ठको राजीनामा सचिवालयले स्वीकृत गरेको छ ।
रवि लामिछाने पुर्पक्षका लागि जेल चलाउन भएपछि संसदीय दलको नेता चयन गर्नुपर्ने वाग्ले समूहको भनाइ रहेको छ । यो समूह चाहिं वाग्लेलाई दलको नेता बनाउने गरी अगाडि बढ्न खोजेको छ । अर्याल कार्यवाहक सभापति भइसकेका कारण दलको नेता चाहिँ वाग्ले हुनुपर्ने उनीहरुको तर्क रहेको छ । तर, वाग्लेलाई दलको नेता बनाउन अर्यालमात्र होइन, लामिछाने पनि सहमत नभएको बताइन्छ । त्यसैले, यो प्रक्रिया लम्बिरहेको छ ।
सभापति लामिछाने भैरहवा जेलबाट डिल्लीबजार कारगार सरुवा भएपछि मात्रै यो विषयमा धेरै छलफल हुन सक्ने पनि बताइन्छ । अहिले दलको उपनेता रहेका विराजभक्त श्रेष्ठले चलाइरहेका छन् । दलको प्रमुख सचेतक भने सन्तोष परियार रहेका छन् । परियार भने अर्यालसँग निकट रहेका छन् उपनेता श्रेष्ठ फेरि आफ्नै तालमा रहेका कारण उनी वाग्लेतिर लाग्छन् वा अर्यालतिर भन्ने पनि प्रष्ट छैन । हुन त, दलको नेतामा वाग्ले र अर्यालमात्र होइन, श्रेष्ठ अनि चन्दा कार्की पनि दाबेदार देखिएका छन् । त्यसैले, यो बजेट अधिवेशनमा पनि दलको नेता चयन नगरी रास्वपाले समय कटाउने संभावना रहेको नेताहरुले नै बताइरहेका छन् । (साँघु साप्ताहिक, २०८२ असार २)
प्रतिकृया दिनुहोस