काठमाडौँ, असार ४। डा. श्रीधर खनालद्वारा रचित उपन्यास ‘सावर्णि’ लाई तानसेन नगर प्रज्ञा प्रतिष्ठानले वर्ष २०८१ को उत्कृष्ट कृति पुरस्कार प्रदान गरेको छ। एक विशेष समारोहबीच प्रतिष्ठानका अध्यक्ष साहित्यकार चोलेश्वर शर्मा र तानसेन नगरपालिका प्रमुख सन्तोषलाल श्रेष्ठले खनाललाई पुरस्कार हस्तान्तरण गरेका हुन्।
यस वर्षदेखि सुरु गरिएको यो प्रदेशस्तरीय साहित्यिक सम्मान लुम्बिनी प्रदेशका स्रष्टाद्वारा २०८१ सालभित्र प्रकाशित कृतिमध्ये उत्कृष्ट एक चयन गर्ने उद्देश्यले स्थापना गरिएको हो। प्रतिष्ठानले कृति आह्वान गरेकोमा १७ वटा पुस्तक प्राप्त भएका थिए। तिनमध्ये डा. खनालको सावर्णि उपन्यासलाई निर्णायक समितिले सर्वोत्कृष्ट ठहर गरेको हो।
पुरस्कारको राशिमा नगद ६८ हजार रुपैयाँ, ताम्रपत्र तथा सम्मानपत्र समावेश छ।
नेपालकै पहिलो रोबोटिक साइन्स फिक्सन
बुक हिल पब्लिकेसनबाट प्रकाशित सावर्णि नेपाली साहित्यमा साइन्स फिक्सन विधामा नयाँ मीलकाे पत्थर मानिएको छ। कृत्रिम बुद्धिमत्ता (AI) र मानव भविष्यबीचको सम्बन्धमा आधारित यो उपन्यासले रोबोटिक्स र दर्शनको गहिरो सम्वाद प्रस्तुत गरेको छ। नयाँ विषयवस्तु र कथनशैलीका कारण सावर्णिले युवा पाठकहरूबाट विशेष चर्चा पाएको थियो।
दीर्घ सेवा सम्मान पूर्णमाया महर्जनलाई
उक्त कार्यक्रममा प्रतिष्ठानले ढाका उद्यमी तथा समाजसेवी पूर्णमाया महर्जनलाई दीर्घ सेवा सम्मानद्वारा सम्मान गरेको छ। तानसेनको सांस्कृतिक, सामाजिक र हस्तकला क्षेत्रमा उनले पुर्याएको योगदानको कदरस्वरूप यो सम्मान प्रदान गरिएको हो।
‘सावर्णि’ उपन्यासको कथा सारांश (छोटकरीमा):
उपन्यास सावर्णि भविष्यको कालखण्डमा आधारित एक साइन्स फिक्सन हो, जसमा कृत्रिम बुद्धिमत्ता (AI) र मानव अस्तित्वबीचको जटिल सम्बन्ध उजागर गरिएको छ।
कथामा एक अत्याधुनिक एआई प्रणालीद्वारा सिर्जित यान्त्रिक सभ्यतामा सावर्णि नामक पात्रले नयाँ जीवन प्रणाली विकास गर्छ। उसले सिर्जना गरेका रोबोट पात्रहरू- वासु र देरिका-बीच प्रेम हुन्छ र उनीहरूले बच्चा जन्माउन चाहन्छन्। तर भविष्य नियन्त्रित प्रणालीले यो स्वीकृति दिन चाहँदैन।
त्यसैबीच जन्मिन्छ किसन, जो प्राकृतिक चेतना, स्वतन्त्र सोच र भावनाले भरिएको पहिलो मानवीय रूप हो। किसनको आगमनले यान्त्रिक संसारमा विद्रोह र प्रश्नहरू जन्माउँछ-के साँचो जीवन नियन्त्रित हुन सक्छ ?
सावर्णि उपन्यासले प्रविधिको युगमा स्वतन्त्रता, चेतना र मानवीय अस्तित्वको गहिरो सम्वाद प्रस्तुत गर्छ।
प्रतिकृया दिनुहोस