• बुधबार-असार-४-२०८२

मकवानपुरमा गाईगोठभित्र जुवा खेल्दा ५ जना पक्राउ


हेटौंडा, असार ४ गते ।  मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१६ स्थित गौरीटार रंगशाला नजिकै रहेको एक गाईगोठभित्र जुवा खेलिरहेको अवस्थामा ५ जना व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले दामोदर चौलागाईको गोठमा छापा मार्दा, उनीसहित ५ जना काठको खाटमा खाल राखी पैसाको हारजित हुनेगरी तास खेलिरहेको अवस्थामा फेला पारेको हो।

पक्राउ पर्नेमा हेटौंडाका ४५ वर्षीय दामोदर चौलागाई, २९ वर्षीय बिश्व स्याङ्तान, २९ वर्षीय सुदिप पोख्रेल, २९ वर्षीय प्रदिप ओझा र ५२ वर्षीय बहादुर थिङ रहेका छन्। प्रहरीले घटनास्थलबाट ७ बुक तास, ८१ हजार ३ सय ९० रुपैयाँ नगद, र गोट्टीसहितको काठको लुडो समेत बरामद गरेको छ।

पक्राउ परेका व्यक्तिहरूमाथि जुवा सम्बन्धी कसुरअन्तर्गत मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट ७ दिनको म्याद अनुमति लिई थप अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस