• बुधबार-असार-४-२०८२

अठ्ठाइस लाख भन्दा बढीकाे जडिबुटी ‘पाँच औंले’सहित सुक बहादुर प क्रा उ

 

साँघु न्यूज डटकम
बुटवल, असार ४ – रुपन्देहीको बुटवल उपमहानगरपालिका–२ स्थित भीमसेन टोलबाट प्रहरीले प्रतिबन्धित जडिबुटी सहित एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्ति ४८ वर्षीय सुक बहादुर वुढा हुन्, जो जुम्लाको कनकासुन्दरी गाउँपालिका–४ का स्थायी बासिन्दा हुन्।

प्रहरीका अनुसार वुढाले बुटवलमा भाडामा लिएको घरमा पाँच औलेसहित अन्य दुर्लभ जडिबुटीहरू गोप्य रूपमा गोदाममा भण्डारण गरी राखेका थिए। गुप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले असार ४ गते दिउँसो करिब १ बजे उक्त स्थानमा छापा मारेर विभिन्न जडिबुटीहरू बरामद गरेको हो।

बरामद सामग्री

पक्राउ परेका वुढाले सेतो बोरा र प्लास्टिकका बाल्टिनमा लुकाईछिपाई राखेको अवस्थामा निम्न जडिबुटी र वस्तुहरू फेला पारिएको प्रहरीले जनाएको छ:

  • पाँच औले जस्तो देखिने जडिबुटी: १६ किलो १०० ग्राम, कुल ५,६३५ थान, अनुमानित मूल्य रु. २८,१७,५००।–

  • कुट्की जस्तो देखिने पदार्थ: ९ किलो ६०० ग्राम

  • गिद्ध सिङे: ५ थान

  • रुद्राक्ष: ३ थान

जडिबुटीहरू प्लास्टिकको बाल्टी तथा बोरामा सुरक्षित रूपमा राखिएको अवस्थामा फेला परेको थियो। प्रारम्भिक अनुसन्धानमा ती जडिबुटीहरू गैरकानुनी रूपमा संकलन गरी बिक्री वितरणको तयारीमा राखिएको आशंका गरिएको छ।

सव-डिभिजन बन कार्यालयमा बुझाइयो

पक्राउ परेका सुक बहादुर वुढालाई प्रहरीले थप अनुसन्धानका लागि सैनामैना सव-डिभिजन बन कार्यालय, रुपन्देहीमा बुझाइसकेको छ। अब वन ऐनअनुसार उनीमाथि कारबाही अघि बढाइने बन कार्यालयले जनाएको छ।

सामान्यतया पाँच औंले, कुट्की लगायतका जडिबुटीहरू हिमाली भेगका संरक्षित वन क्षेत्रहरूमा पाइने संवेदनशील वनस्पति हुन्। यस्ता जडिबुटीहरूको व्यवसायिक संकलन, भण्डारण वा निकासीमा सरकारी अनुमति अनिवार्य हुन्छ।


तर विना अनुमति यस्तो कार्य गरिएको पुष्टि भएमा वन ऐन २०७६ अनुसार कडा कारबाही हुने कानूनी व्यवस्था छ।

जडिबुटी तस्करीको नयाँ मोडल ?

विना जानकारी भाडामा लिएको घरमा ठूलो परिणाममा जडिबुटी भण्डारण गरिएको यो घटनाले रुपन्देही लगायतका शहरी क्षेत्रमा जडिबुटी तस्करीको नयाँ नेटवर्क फैलिएको आशंका बलियो बनाएको छ।


विशेष गरी हिमाली जिल्लाबाट जडिबुटी ल्याई शहरी क्षेत्रका गोदाममा थुपार्ने र त्यसपछि सीमा पार निकासी गर्ने गिरोह सकृय हुन सक्ने संकेत देखिएको छ।

प्रहरी र वन प्रशासनबीच समन्वय गरी यस्ता गतिविधिमाथि निगरानी बढाइने र अनुसन्धानलाई थप फराकिलो बनाइने प्रहरी स्रोतले जनाएको छ।

– साँघु न्यूज डटकम
(सम्पर्क: [email protected])

 

 

 

प्रतिकृया दिनुहोस