नेकपा (एमाले) नेपालको लामो बाम-लोकतान्त्रिक आन्दोलनमा गौरवपूर्ण इतिहास बोकेको सर्वाधिक लोकप्रिय राजनीतिक शक्ति हो । यसले मुलुक र समाजको रूपान्तरण र जनजीविकाका सवालमा बिभिन्न ऐतिहासिक कालखण्डमा बडेबडे कुर्वानी सहित सधैं अग्रगामी र निर्णायक भूमिका खेल्दै आएको छ ।
गरिब, विपन्न र श्रमजीवी जनताको ठूलो हिस्सा विगत देखि वर्तमान सम्म नेकपा एमालेको साथमा छ जुन पार्टी कार्यकर्ताका लागि गौरवको विषय हो । समयका कठिन मोडहरूमा पार्टीले लिएको निर्णय, नेतृत्वको दूरदृष्टि र कार्यकर्ताको समर्पणले यो सङ्गठनलाई अहिलेको हैसियतमा पुर्याएको हो।
पार्टी सुधारको प्रश्नमा खरो बोल्ने नै सच्चा मित्र हुन्छ । हामी सबैको सङ्कल्प हो, नेकपा (एमाले) अझ सशक्त, लोकतान्त्रिक र जनताप्रति उत्तरदायी बनोस्. जनमुखी संरचना, आन्तरिक लोकतन्त्र, युवा नेतृत्वको विकास र विचारमा निष्ठालाई स्थापित गर्न सकियो भने “मिशन-८४” पटक पटक दोहोर्याइ रहनै पर्दैन ।
तर कुनैपनि दलको दीर्घकालीन सफलता र जनविश्वासको आधार त्यसको नेतृत्व, नीति र कार्यकर्ताको कार्यशैलीमा निर्भर गर्दछ भन्ने कुरा एउटा बिर्सन नहुने सच्चाइ हो ।
विषय प्रवेश
हालको सन्दर्भमा, पार्टी अध्यक्ष केपी शर्मा ओलीको अगुवाइमा मुलुकले केही ऐतिहासिक युगान्तकारी फड्को मार्न सफल भएको छ र नेकपा (एमाले) देशमा सर्वत्र पिछडीएका क्षेत्र र जनताको बिच अझ मजबुती साथ स्थापित भएकोछ । तर मौजुदा संसदको संरचना, गठबन्धनको बाध्यता अनि पार्टी संचालनको सन्दर्भमा नेतृत्वका केही निर्णय र कार्यशैलीका कारण पार्टीपंक्ति र जनस्तरमा केही आशङ्का बनेको यथार्थ पनि हाम्रै सामु छ ।
यसरी नेपाली राजनीतिको एउटा महत्वपूर्ण स्तम्भ मानिने नेकपा एमाले आजका दिनमा नयाँ चुनौती र अवसरहरूको माझमा छ । पार्टीको गौरवशाली इतिहास र जनताका अपेक्षाहरूलाई मध्यनजर गर्दा नेतृत्वका लागि यो एक निर्णायक क्षण बन्न गएको छ भने इमानदार कार्यकर्ताको नाताले पार्टी हित र देशको भविष्यलाई केन्द्रमा राखेर हामीले आत्मसमीक्षा गर्दै जिम्मेवारी साथ अघि बढ्ने घडी आइपरेको छ ।
स्थिति विश्लेषण
भन्ने पर्दैन, लोकतन्त्रमा राजनीतिक दलको शक्ति कार्यकर्ताको हौसला र जनताको विश्वासमा निहित हुन्छ। सम्मानित अध्यक्ष क. केपी ओलीको राष्ट्रियता प्रतिको चट्टानी अडान, विकास प्रतिको सुस्पष्ट दृष्टिकोण र अन्तरपार्टी अनुशासनमा योगदान प्रशंसनीय रहिआएको छ । हिजो त्यत्रा वरिष्ठ नेताहरूले एकतालाई घातगरी पार्टी विभाजन निम्त्याएको कठिनतम घडीमा पनि पार्टी झण्डा र गौरव झुक्न नदिई दृढता र कुशलतासाथ ” सुखी नेपाली : समृद्ध नेपाल”को आकांक्षा लिने आजको अवस्था सम्म हाँकेर ल्याउनु हामी एमालेजनले युगौंसम्म बिर्सन नसक्ने कीर्तिमान बनेको छ ।
उहाँ अब निश्चय नै पार्टीको आइकन बनिसक्नु भएको छ । तर विगतका केही घटनाक्रमहरूमा नेतृत्वद्वारा लिइएका कदमहरूले पार्टीभित्र अब गम्भीर छलफल र आत्म-मूल्याङ्कनको आवश्यकता देखिएको छ । पार्टीका कतिपय निष्ठावान कार्यकर्ताहरू आज सशङ्कित देखिन्छन- के निर्णयहरू वास्तवमै पर्याप्त बहस र संवादद्वारा संस्थागत प्रक्रियाबाट आएका छन् ?
सुझाव र सहभागिता कमजोर बन्दै गएर सबै तहमा ताली बजाउने संस्कृति त विकास भएन ? कतै हामी नेतृत्वको अति विश्वासमा लुत्पुटिएर जनताको विश्वासमा चिप्लिँदै त छैनौं ? सिद्धान्तको बहकाव, निर्णायक नीतिगत परिवर्तन, गुटगत प्रवृत्ति, आन्तरिक लोकतन्त्रको कमजोरी र कार्यकर्तामाझ विश्वासको सङ्कटको अवस्था देखिन थालेको पो हो कि ? कतै हाम्रो पार्टी र नेतृत्व जनस्तरमा अलोकप्रिय बन्दै गएको त छैन ? यस्ता प्रश्नहरू आरोप-प्रत्यारोपको विषय नभएर हाम्रा लागि आत्म-मूल्याङ्कनका आधार हुन् । यी प्रत्येक बफादार नेता कार्यकर्ताका अनुभूति हुन् र त्यसअर्थमा उत्तिकै जायज र गम्भीर प्रकृतिका छन् ।
हामी सबैको साझा चाहना पार्टीको सुदृढीकरण, जनप्रियतामा अभिवृद्धि अनि मुलुक र जनताको दीर्घकालीन हित भन्दा अर्को छैन । त्यसका लागि जस्तोसुकै मूल्य चुकाउन पनि पार्टीपंक्ति पछि पर्नुहुन्न । नेतृत्व शैलीमा सहमति, समावेशिता र पारदर्शिता हराउन थालेको हो भने पनि अब लोलोपोतो होइन, स्पष्ट बोल्नुपर्ने समय हो ।
समयको माग
आधुनिक जेन-जेड पुस्ता भाषणमा झुम्न र रम्न सक्दैन, ठोस र प्रभावकारी परिणाम हेर्न चाहन्छ । फेरि कुनै कालखण्ड र ऐतिहासिक घडीमा सही र खरो उत्रिने नेतृत्व सधैं र हरेक परिस्थितिमा त्यत्तिकै सही हुन्छ भनेर ढुक्क बस्नु पनि गैरमार्क्सवादी चिन्तन हो । कसैको पनि एकल निर्णय सधैं उचित नहुन सक्छ र लोकतन्त्रको मर्म पनि त्यो होइन । आजको जटिल राजनीतिक परिदृश्यमा पार्टीभित्र सामूहिक विचार विमर्श र सन्तुलन जति अपरिहार्य हो- सहमति, सहभागिता र वैधानिक प्रक्रियाको उच्च सम्मान त्यत्ति नै जरुरी हो. विशेषतः पार्टीको नीति-निर्माण, महत्त्वपूर्ण पदाधिकारी र समावेशी-समानुपातिक प्रतिनिधि छनोट अनि सरकारका निर्णयहरूमा कार्यकर्ताको स्वर सुन्ने अभ्यास बलियो बनाउनुमा केही कमजोरी भएकै छन् ।
समावेशी नेतृत्व र अपेक्षा
राजनीति भनेको सहमतिको कला हो। गतिशील र जीवन्त पार्टीभित्र फरक विचार हुनु स्वाभाविक हो । आजको समयमा नेतृत्वको अर्थ निर्णय ठोक्ने मात्र नभएर सबैलाई साथलिएर अघि बढ्नु हो । सफल नेतृत्व त्यही हो जसले पार्टी भित्रका सबै स्वरलाई सुन्छ, विरोधी मतलाई पनि सम्मान गर्छ र निर्णय प्रक्रियामा पारदर्शिता अपनाउँछ ।
आलोचनालाई सकारात्मक रूपमा लिँदै तिनलाई दमन गर्नुभन्दा स्वस्थ बहस र छलफलका माध्यमबाट विमतिहरूलाई हल गर्छ । फरक विचार राख्नेहरूलाई पेलेरै वा दबाएरै अघि बढ्ने शैलीले क्षणिक सफलता त मिल्ला, परन्तु पार्टीको दीर्घकालीन हित अवश्य गर्दैन । फेरी निर्णय प्रक्रिया खुला र पारदर्शी हुनु लोकतान्त्रिक मूल्य-मान्यताको आधारभूत शर्त पनि त हो !
उता पार्टीका बिभिन्न तहका नेता-कार्यकर्ता माथि बेलाबेलामा भ्रष्टाचार र आर्थिक अनियमितताका प्रश्न उठ्ने गरेका छन् । जबज मार्फत समस्त शोषित पीडित जनताको शिप अभिवृद्धि, उत्पादन, रोजगारी र जीवनस्तर सुधार सहित राष्ट्रिय समृद्धिको जनवादी-समाजवादी आर्थिक नीति लिएको एउटा बामपन्थी दलभित्र यस्ताकुरा क्षम्य होइनन् । हाम्रा नेता कमरेडहरू माथि यी र यस्ता आरोप विपक्षीहरूका निराधार प्रपञ्च हुनसक्ने कुरा हाम्रो विश्वास हो तर प्रश्न उठिसकेको अवस्थामा स्वतन्त्र छानबिन द्वारा विधिसम्मत ढङ्गले निराकरण र सफाइको बाटोमा नगइ दबाउँदै छिपाउँदै जाने हो भने यसले पार्टीको सार्वजनिक प्रतिष्ठामा नराम्रो धक्का पुग्न जान्छ र क्रमिक विघटनको बाटोमा लैजान्छ भन्ने पनि त्यत्तिकै सत्य हो ।
पार्टी सञ्चालन
नेता तथा कार्यकर्ताका जायज गुनासा र फरक मतलाई सम्मान गर्ने संस्थागत अभ्यासको अवलम्बन र पार्टीभित्र स्वस्थ आलोचना, प्रत्यालोचना, आत्मालोचना र समालोचनाको संस्कारगत एवम् संथागत विकास गर्नुपर्छ भन्ने आवाजहरू आज यत्रतत्र सुनिएको छ । यसले नेतृत्वलाई अझ जिम्मेवार बनाउँछ, कार्यकर्ताको विश्वास बलियो पार्छ र पार्टीलाई जनताको नजरमा अझ विश्वसनीय तुल्याउँछ ।
नेतृत्वले पटक-पटक कार्यकर्ताको भावनालाई सुन्ने वैधानिक प्रक्रिया अपनाउने र साझा निर्णय मार्फत अघि बढ्ने संस्कारलाई अङ्गीकार गरेमात्रै पार्टीमा स्थायित्व, एकता र दीर्घकालीन सफलता सम्भव हुन्छ । इतिहासमा सफल नेताहरू ती हुन् जसले संवाद, परामर्श र साझा एजेन्डामा कामगर्दै आन्तरिक लोकतन्त्रलाई बलियो बनाएका छन् । हाम्रोमा पनि तल्लो तहदेखी केन्द्रसम्म सबै तहमा नेतृत्वले विरोधीहरू प्रति शत्रुतापूर्ण व्यवहार त्यागेर सदा आत्म-चिन्तन र आत्म-सुधारको साहस देखाउनु पर्छ र विपक्षीलाई हेर्ने दृष्टिकोणमा लचिलोपन ल्याउनु पर्छ।
आज समय, समाज र राजनैतिक सन्दर्भ हेर्दा स्थापित मान्यताहरू माथि टेकेर नेतृत्व हस्तान्तरण प्रक्रिया सहज गर्दै प्रचूर ऊर्जा र नयाँसोचले युक्त युवा पुस्तामा पुस्तान्तरण र नेतृत्व हस्तान्तरण प्रक्रिया अगाडि बढाए मात्र पार्टी जीवन्त र गतिशील रहन्छ । शक्ति प्रदर्शन, गणेश-भक्ति, चन्दा र पहुँचका आधारमा उम्मेदवार छनौट भइरहने हो भने योग्य, इमानदार र नीतिवान नेता-कार्यकर्ता पार्टीभित्र सधै अट्न सक्दैनन् । उम्मेदवार छनोट प्रक्रियामा योग्यता, योगदान, लोकप्रियता, खुला प्रतिस्पर्धा, जनताको राय, क्षेत्रीय कार्यकर्ताको मूल्याङ्कन र जनप्रतिनिधिको समीक्षा अकाट्य र निर्णायक आधार बन्नुपर्छ ।
जनसङ्गठनहरू सीमित गुटको नियन्त्रणमा रही पार्टी कब्जाको माध्यम बन्ने हो भने प्रतिस्पर्धा स्वस्थकर हुनै सक्दैन ।
आफ्नो मान्छेले जसरी पनि जित्नैपर्छ र अरु कसैले जिते पार्टी कमजोर हुन्छ भन्ने भ्रम र मानसिकता अब अन्त हुनुपर्छ । त्यस्तै विरोधीलाई शत्रु ठान्ने र प्रश्न उठाउने कार्यकर्तालाई चुप लगाउने प्रवृत्तिको अन्त्य भई योग्यता र इमानदारिताको कदर तथा जायज आवाज नियमित सुन्ने संस्कृतिको विकास नै पार्टी सुदृढीकरणको निर्विकल्प बाटो हो ।
राष्ट्रिय दायित्व निर्वाह
लोकतन्त्र बहाली र गणतन्त्र घोषणाको यति लामो समय सम्म सल्टिनु सट्टा थप गहिरिँदै गएको राजनैतिक अस्थिरता, बिग्रँदो आर्थिक अवस्था र भ्रष्टाचारले आज जनता आक्रान्त छन् । यस्तो विषम परिस्थितमा क्रमभङ्ग गर्न संविधानको परिमार्जन आज उत्तिकै खट्केको विषय छ । यस्ता राष्ट्रिय मुद्दाहरूमा सबै विपक्षलाई पनि समन्वय, सहमति र सहकार्यमा ल्याउन सार्थक प्रयत्नलाई जारी राख्दै जनताको दैनिक जीवनसँग जोडिएका विषयहरूमा कामगर्ने हो भने स्वदेशमै इज्जत, रोजगारी र अवसर छ भन्ने आत्मविश्वास युवावर्गमा फेरी जगाउन सकिन्छ ।
नेतृत्वले आफ्ना कमजोरीहरूलाई स्वीकार गर्दै, स्पष्ट दृष्टिकोण र ठोस कार्ययोजना सहित सैद्धान्तिक र नीतिगत स्पष्टताका साथ परिणाममुखी कार्यशैलीद्वारा पार्टीलाई जनमुखी र गतिशील बनाउन ढिलो गर्नु हुँदैन । यस दिशामा नेतृत्वमा थप युवा र समावेशी अनुहारलाई अगाडी बढाउँदा पार्टीको विश्वसनीयता बढ्छ र जनआधार फराकिलो बन्छ । उनीहरूका नवीन विचार र ऊर्जाले पार्टीलाई अझ नयाँ उचाइमा उठाउँछ ।
पार्टीपंक्ति बाहिरका विज्ञ, बुद्धिजीवी र आम जनतासँगको परामर्शबाट सुशासन, सुधार र जनमुखी कार्यक्रमहरू थाल्ने हो भने पार्टी र नेतृत्व सम्बन्धी सबै गलतफहमीहरू हटाउन, जनताको भरोसा बढाउन एवम् पार्टीको छविलाई सुधार्न कुनै गाह्रोकाम छैन । यसैलाई मध्यनजर राख्दै कार्यकर्ताको उचित मूल्याङ्कन र परिचालन गरेर उनीहरूलाई आफ्नो इर्दगिर्द गणेश-परिक्रमा गराउन छोडी जनताको बिचमा पुर्याएमा मात्र पार्टीका नीति र कार्यक्रमलाई जनतासम्म पुर्याउन सम्भव हुन्छ । यसले जनाधारमा प्रत्यक्ष असरगर्छ र पार्टी एवम् समग्र नेपाली लोकतन्त्र र समृद्धिमा मद्दत गर्छ ।
यत्ति हो उमेर, ऊर्जा, नयाँ जोश-हौशला हुने जुझारू युवालाई मौका दिन पुरानो पुस्ताले सहर्ष त्याग र उदारताको स्वयम् उदाहरण बन्न सक्नुपर्छ । क. पुष्पलाल र क. मदन भण्डारीले निरन्तर जोड दिएको विषय यही हो कि पार्टीमा नेता प्रधान नभएर सधै नीति प्रधान हुन्छ । त्यसैले अस्वस्थ गुटबन्दी खडागर्ने, कसैलाई स्थायीरूपमा निषेध गर्ने र पार्टीभित्र अहिलेबाटै अनावश्यक विवाद खडागर्ने कुरालाई राम्रो मान्न सकिन्न ।
नेतृत्वको प्रश्न स्थापित मान्यताभित्रै महाधिवेशन हलबाट विधिसम्मत तरिकाले मित्रवत प्रतिस्पर्धाद्वारा सजिलै हलहुने कुरा हो । हरेक प्रतिनिधिले पार्टीको अबको अभिभारा के आधारमा र कसलाई सुम्पिनु उचित हुन्छ भन्ने राम्रो जान्दछ र तदनुसार निर्णय लिन स्वयम् स्वतन्त्र र सक्षम पनि छ । नेतृत्वको समस्या हल गर्ने यही एउटा उचित, प्रजातान्त्रिक र सर्वोत्तम उपाय हो ।
अन्तिममा
एमालेको इतिहास सङ्घर्ष र बलिदानको इतिहास हो । सशक्त सङ्गठन, अनुभवी नेतृत्व र समर्पित कार्यकर्ता यसका बल हुन् । सम्मानित अध्यक्ष कमरेड केपी ओलीजीको लामो राजनीतिक अनुभव र समर्पण निर्विवाद छ। उहाँको अनुभव, दूरदृष्टि र दृढता पार्टीको लागि सम्पत्ति हो, यसमा विवाद छैन । उहाँको नेतृत्वमा विगतमा सुरु भएका सबै राम्रा इनिसिएटिवलाई निरन्तरता दिँदै पार्टीका मूल्य र मान्यतालाई जोगाउन, हामी सबैले अब संस्थागत अभ्यासमा जोड दिनु आवश्यक छ ।
वस्तुत: पार्टी सुधारको प्रश्नमा खरो बोल्ने नै सच्चा मित्र हुन्छ । हामी सबैको सङ्कल्प हो, नेकपा (एमाले) अझ सशक्त, लोकतान्त्रिक र जनताप्रति उत्तरदायी बनोस् । जनमुखी संरचना, आन्तरिक लोकतन्त्र, युवा नेतृत्वको विकास र विचारमा निष्ठालाई स्थापित गर्न सकियो भने “मिशन-८४” पटक पटक दोहोर्याइ रहनै पर्दैन - नेकपा एमाले दीर्घकालका लागि एकल बहुमतका साथ सरकारमा स्थिर हुनेकुरा अनुमान होइन, अटल सत्य हो । हामी सबै आ-आफ्नो तर्फबाट त्यो खालको त्याग र योगदानका लागि तयार हुनैपर्छ । सम्मानित अध्यक्ष क. ओली त्यागको मामलामा आज पर्यन्त कोहीभन्दा कम देखिनु भएको छैन । आजपनि उहाँ जस्ता यसक्षेत्र र विश्व समुदायमा व्यक्तित्व उठेका शीर्ष नेताबाट आदर्श मानदण्डको स्थापना र त्यसै अनुरुपको भूमिका निर्वाह हुने कुरामा विश्वस्त हुन सकिन्छ ।
प्रतिकृया दिनुहोस