• आइतबार-असार-८-२०८२

साहित्य सन्ध्याको शृङ्खलामा समाजवादी बहस

समाजवाद र साहित्यको अन्तर्सम्बन्धमा विशद् प्रस्तुति

काठमाडौं, असार ७ गते । साहित्य सन्ध्याले आयोजना गर्दै आएको नियमित मासिक शृङ्खलाको ४६४ औँ विशेष कार्यक्रम २०८२ असार ७ गते शनिबार आर.आर. क्याम्पस, प्रदर्शनीमार्गमा ‘समाजवादको यात्रामा साहित्यको भूमिका’ भन्ने विषयमा गहन परिचर्चा र विशेष कविगोष्ठीका साथ सम्पन्न भयो ।

 

कार्यक्रम साहित्य सन्ध्याका उपाध्यक्ष रमेश पोखरेलको अध्यक्षता र सदस्य डा. भागवत आचार्यको सञ्चालनमा सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख अतिथिको रूपमा प्रा. डा. हेमनाथ पौडेल, साथै युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानका अध्यक्ष डा. फणीन्द्रराज निरौला, नियात्राकार पोष चापागाईँ, डा. गोविन्दप्रसाद आचार्य, डा. कृष्ण सुवेदी, रत्ननिधि रेग्मी, साझा प्रकाशनकी सञ्चालक सदस्य जयन्ता पोखरेल लगायत साहित्यिक तथा बौद्धिक क्षेत्रका दर्जनौँ विशिष्ट व्यक्तिहरू सहभागी थिए।

 

समाजवाद र साहित्यको अन्तर्सम्बन्धमा विशद् प्रस्तुति


प्रमुख अतिथि प्रा. डा. पौडेलले ‘समाजवादको यात्रामा साहित्यको भूमिका’ शीर्षकमा चौध पृष्ठ लामो गोष्ठीपत्र पेस गर्दै समाजवादी यथार्थवादको ऐतिहासिक विकास, सिद्धान्त, दर्शन, नेपालमा यसको प्रवेश र प्रभावका विविध पक्षको चर्चा गर्नुभयो।

 

उहाँले भन्नुभयो, "नेपालको संविधानमा समाजवादउन्मुख शासन व्यवस्था उल्लेखित भए पनि व्यवहारमा हामी अझै पनि पुँजीवादको चरणमै छौँ। लेखन जगत् पनि आलोचनात्मक यथार्थवादको घेराबाट माथि उठ्न सकेको छैन। समाजवादी साहित्यको उद्देश्य वर्गीय शोषण अन्त्य गर्दै समतामूलक समाज निर्माण गर्नु हो।"

 

उहाँले माक्र्सवाद, लेनिनवाददेखि जलवायु समाजवादसम्मको बहसलाई समेट्दै साहित्यले समाजवादी यात्रामा ऐतिहासिक र वैचारिक भूमिका खेलेको दृष्टान्तसमेत प्रस्तुत गर्नुभयो।

विविध कविको प्रभावशाली उपस्थिति


कविगोष्ठीमा सञ्जय सोती, ओमप्रसाद कोइराला, कृष्णप्रसाद पौडेल, डम्बर पहाडी, खेमराज निरौला, रामप्रसाद प्रसाईँ, डा. मनोज जोशी, भावना न्यौपाने, बैरागी जेठा, बलराम विष्ट, सुशीला प्रधानाङ्ग लगायतका कविहरूले आफ्नो कविता, गीत र गजल वाचन गर्नुभयो।

 

कविता वाचनपछि समीक्षकको रूपमा बोल्दै स्रष्टा सुशीला प्रधानाङ्गले आज प्रस्तुत कविताहरूमा कृषकका संवेदना, समाजको यथार्थ चित्रण र समसामयिकता झल्किएको बताउनुभयो। उहाँले भन्नुभयो, “कतिपय रचनाहरू परिष्कारको खाँचो देखिन्छ तर सधैंजस्तै साहित्य सन्ध्याले नयाँ पुस्ताका सिर्जनालाई सजीव मंच दिएको छ।”

साहित्य सन्ध्या : निरन्तर अभियान


कार्यक्रम समापन गर्दै सभाध्यक्ष रमेश पोखरेलले साहित्य सन्ध्या २०३९ साल पुस २ गते नेपाल ल क्याम्पसबाट सुरु भएको सामाजिक रूपान्तरणको अभियान भएको उल्लेख गर्दै भन्नुभयो, “हाम्रो अभियान हरेक महिना गम्भीर विषयमा बहस गर्दै आएको छ। आजको समारोह पनि समाजवादजस्तो गहन विचारको विविध पक्षमाथि विश्लेषण गरिनुका साथै सिर्जनात्मक अभिव्यक्तिको उत्कृष्ठ प्रदर्शन भएको दिन बन्यो।”

 

पोखरेलले आगामी महिनामा पनि विशेष विषयमा गोष्ठी आयोजना गरिने जानकारी दिँदै सबै सहभागीप्रति आभार प्रकट गर्नुभयो।

✍ रमेश पोखरेल
उपाध्यक्ष, साहित्य सन्ध्या 

प्रतिकृया दिनुहोस