रुपन्देही, असार १० – भन्सार छलि चोरी पैठारी गरिएको अवैध सामानहरू नियन्त्रणमा लिन जिल्लाको विभिन्न स्थानमा सञ्चालन गरिएको प्रहरी अभियानबाट रु. १० लाख ५६ हजार ९०८ बराबरको सामान बरामद भएको छ। २०८२ असार ९ गते गरिएको विशेष चेकजाँच र निगरानी अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतका प्रहरी इकाइहरूद्वारा ६ स्थान बाट भन्सार छलेर ल्याइएका वस्तुहरू नियन्त्रणमा लिइएर आज भैरहवा भन्सार कार्यालय, बेलहिया मा बुझाइएको हो।
प्रमुख बरामद विवरण:
१. कस्मेटिक सामानसहित स्कुटर नियन्त्रणमा
जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले सिद्धार्थनगर नगरपालिका–९ गोलीगढस्थितबाट लुम्बिनी सांस्कृतिक नगरपालिका–१० का ४५ वर्षीय प्रकाश अर्याल को घरमा लुकाइछिपाई राखिएका रु. ३,७४,०६४ बराबरका विभिन्न कस्मेटिक सामान बरामद गर्यो।
त्यसैगरी, सिद्धार्थनगर–३ आँखा अस्पताल नजिकैबाट ओमसतिया गाउँपालिका–४ का ३२ वर्षीय मुकेश तिवारी ले चलाएको लु २४ प ८९७२ नम्बरको स्कुटरमा ल्याइँदै गरेको रु. १,७१,४१० बराबरको कस्मेटिक सामान फेला पारिएको छ। दुई घटनाबाट कुल रु. ५,४५,४७४ को अवैध सामान बरामद भएको हो।
२. बेलहियाबाट दैनिक उपभोग्य सामग्री र टेलरिङ सामान
इलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको टोलीले सिद्धार्थनगर–१ बेलहिया बसपार्क पछाडिबाट १ झोला कस्मेटिक, ४ बोरा कुरमुरे, चिनी, सरफ लगायत दैनिक उपभोग्य सामान, तथा ३ बोरा टेलरिङ सामग्री (बकरम, इलास्टिक) गरी रु. १,१०,००० बराबरको मालसामान बरामद गर्यो।
३. गुरबनियाबाट मोटरसाइकलसहित चिनी र भेली
इलाका प्रहरी कार्यालय बेथरीले मायादेवी गाउँपालिका–६ गुरबनियाबाट लु १९ प ४०२४ नम्बरको मोटरसाइकलमा ३ बोरा चिनी र १ कार्टुन भेली फेला पारी मो.सा.सहित रु. ५२,७०० बराबरको बरामद गर्यो। उक्त सामग्रीहरू वेवारिसे अवस्थामा भेटिएको थियो।
४. मेउडिहवाबाट कपडा बरामद
प्रहरी चौकी मेउडिहवा र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले सिद्धार्थनगर–२ मेउडिहवाबाट लु २४ प ६४६९ नम्बरको मोटरसाइकलमा वेवारिसे अवस्थामा राखिएको १९५ पिस रेडिमेड कुर्ता टप र २६३ मिटर काँचो कपडा बरामद गर्यो। कुल मूल्य रु. २,३५,५७० छ।
५. भारतीय नागरिकसहित कपडासहितको मोटरसाइकल नियन्त्रणमा
भैरहवा बसपार्कबाट प्रहरी बिटले १८ वर्षीय मरिदल आस्वानी र १७ वर्षीय राजविर राजपाल (दुबै भारत नौतवना निवासी) सवार लु २४ प ६४६९ नम्बरको मोटरसाइकलसहित २७ पिस कुर्ता सुरुवाल र रु. ९०,२५० बराबरको सामान नियन्त्रणमा लिएको छ। उनीहरूलाई आवश्यक कारबाहीका लागि बुझाइएको छ।
६. देवकोटाचोकबाट उपभोग्य सामान बरामद
प्रहरी बिट देवकोटाचोकले सिद्धार्थनगर–१२ स्थित देवकोटा चोकबाट रु. २२,९१४ बराबरको दैनिक उपभोग्य सामान बरामद गरेको छ।
समग्र मूल्य र निष्कर्ष
६ वटा स्थानबाट समन्वित रूपमा गरिएको कारबाहीमा कुल अन्दाजी रु. १०,५६,९०८ मूल्य बराबरको भन्सार छलि ल्याइएका सामाग्रीहरू नियन्त्रणमा लिइएको हो। सबै सामानहरू भैरहवा भन्सार कार्यालय, बेलहिया मा बुझाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
प्रहरीले भन्सार छलि तथा चोरी पैठारीविरुद्ध निगरानी अझ कडा बनाउने र आगामी दिनमा यस्ता गैरकानुनी गतिविधिमा संलग्नहरूलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएको छ।
– साँघु न्यूज डटकम
(सूचना स्रोत: जिल्ला प्रहरी कार्यालय, रुपन्देही)
प्रतिकृया दिनुहोस