सुर्खेत । कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगर नगरपालिकाले आर्थिक बर्ष २०८२÷०८३ का लागि चार अर्ब ३८ करोड २७ लाख १५ हजारको बजेट नगर सभामा प्रस्ताव गरेको छ । मंगलबार भएको वीरेन्द्रनगरको सत्रौ नगर सभामा नगरपालिकाले आगामी बर्षको निती, बजेट, योजना र कार्यक्रमसहितको आय व्ययमा सो प्रस्ताव गरिएको हो ।
नगर सभामा नगर उपप्रमुख निलकण्ठ खनालले ५१ करोड ६३ लाख ५० हजारको आन्तरिक आयसहित कूल चार अर्ब ३८ करोड २७ लाख १५ हजारको रुपैयाँको बजेट विनियोजन गरेको छ । वीरेन्द्रनगर नगरपालिकाले संघीय सरकारको वित्तीय सामानीकरण अनुदान २४ करोड २४ लाख, संघीय सरकारको सशर्त अनुदान २ अर्व २० करोड ८ लाख, संघीय सरकारको राजश्व बाँडफाँडबाट २० करोड ५७ लाख ९३ हजार रुपैयाँ प्राप्त गर्ने अनुमान गरेको छ ।
त्यस्तै वीरेन्द्रनगरले कर्णाली प्रदेश सरकारबाट करोड ३४ लाख ५३ हजार वित्तीय समानीकरण अनुदान, प्रदेश सशर्त अनुदान ३७ करोड ६१ लाख ३६ हजार, घर, जग्गा, रजिष्ट्रेशन तथा मनोरञ्जन १५ करोड, दहत्तर वहत्तर शुल्क २ करोड ५० लाख, नगरपालिकाको आन्तरिक आय रु. ५१ करोड ६३ लाख ५० हजार, आर्थिक बर्ष २०८१÷०८२ का क्रमागत आयोजना तथा सर्न सक्ने बैंक मौज्दात ४१ करोड २७ लाख ८३ हजार र सामाजिक सुरक्षा अनुदान ४० करोड रुपैयाँ आगामी बजेटमा समेटिएको छ ।
नगरपालिकाले आगामी आर्थिक बर्षका लागि चालूतर्फ १ अर्ब ५९ करोड ४२ लाख ३० हजार रुपैयाँ (३६.३७ प्रतिशत) र पुँजिगततर्फ २ अर्व ७८ करोड ८४ लाख ८५ हजार मात्र (६३.६३प्रतिशत) रुपैयाँ विनियोजन गरिएको छ ।
यस्ता छन् वीरेन्द्रनगरका प्राथमिकता
नगरको यातायातलाई भरपर्दो सर्वसुलभ बनाउनको आगामी वर्ष नगर बस खरिद गरि सञ्चालनका लागि २ करोड रुपैयाँ विनियोजन गरिएको छ । विकास साझेदार तथा गैर सरकारी संघ संस्थातर्फवाट पेश भएको ४० करोडको आयोजना तथा कार्यक्रम समेत स्वीकृतिका लागि प्रस्ताव नगर सभामा पेश गरिएको छ ।
कर्णाली प्रदेशको राजधानीको रुपमा रहेको वीरेन्द्रनगर नगरपालिकामा बसाईसराई आउनेको सीप, क्षमता र उनीहरुको विकास र समृद्धिका लागि ‘ज्ञान बैंक स्थापना’ गर्ने भएको हो । प्रदेशको राजधानी शहरमा पाइने सुविधाको खोजीमा कर्णालीबाट मात्रै हैन कर्णाली बाहिरका जिल्लाहरुबाट पनि यस नगरपालिकामा भइरहेको उच्च आन्तरिक बसाइसराईलाई व्यवस्थित गर्नुपर्ने नगरपालिकाका प्रमुख मोहनमाया ढकालले बताइन् ।
‘संम्भावनाको खोजी गर्दै बसाईसराई भई आएकाहरुलाई स्वागत गर्दै उनीहरुसँग भएको रैथाने सीप र क्षमता नगरको विकास र समृद्दिमा उपयोग गर्न ज्ञान बैंकको स्थापना गरि नगरलाई समृद्द बनाउंदै लैजाने छ,’ उनले भनिन्,‘थप सृजनात्मक भएर यो नगरपालिका अगाडि बढिरहेको छ ।’
प्राप्त स्रोत र साधनको अधिकतम उपयोग गर्दैं पूर्वाधार तथा सामाजिक र समावेशीकरण विकासको क्षेत्रलाई अगाडि बढाएका र नेपाल सरकारको मापदण्ड अनुसार नगरपालिकालाई स्तरोन्नति गर्न आवश्यक पूर्वाधार, जनसंख्या र राजस्व पु¥याउन सफल नगरपालिका भएको हुँदा यस नगरपालिकालाई उपमहानगरपालिकाको रुपमा विकास गर्न वीरेन्द्रननगर नगरपालिकाको ४९ औं स्थापना दिवसको अवसर पारी प्रदेश सरकारलाई आवश्यक प्रक्रिया अगाडि बढाई स्तरोन्नतिको प्रक्रियाका थालनी गरेको प्रमुख ढकालले जानकारी दिइन् ।
नगर उपप्रमुख खनालका अनुसार उपत्यकाको खानेपानी समस्याको दिगो समाधानका लागि संघीय र प्रदेश सरकारसँगको सहकार्यमा अघि बढाइएको भेरी पम्पिङ आयोजनाका लागि ११ करोड ६० लाख रुपैयाँ म्याचिङ फन्ड छुट्याइएको छ ।
सहरी पूर्वाधार र सौन्दर्यतर्फ राजधानी केन्द्रित पूर्वाधारहरू जस्तै ट्राफिक लाइट, रोड मार्किङ, फुटपाथ व्यवस्थापन, सीसी क्यामरा र हाईमास्ट लाइट जडानका लागि १२ करोड रुपैयाँ विनियोजन गरिएको छ । साथै, घण्टाघर पार्क लगायत अन्य पार्क निर्माण र क्रमागत आयोजनाका लागि २२ करोड ३४ लाख बजेट राखिएको छ ।
प्रतिकृया दिनुहोस