बेइजिङ, ११ असार । दक्षिणपश्चिम चीनमा आएको भीषण बाढीका कारण ८० हजारभन्दा बढी मानिस विस्थापित भएका छन्। सरकारी सञ्चारमाध्यमका अनुसार लगातारको भारी वर्षापछि नदीहरू उर्लिएर बस्तीहरू डुबानमा परेका छन् ।
गुइझोउ प्रान्तमा मात्र करिब ८० हजार ९ सयलाई सुरक्षित स्थानमा सारिएको छ । रोङजियाङ काउन्टीस्थित फुटबल मैदान तीन मिटर पानीमुनि डुबेको सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ ।
सिसिटिभीको भिडियो फुटेजमा पहाडी क्षेत्रका गाउँहरू पूर्ण रूपमा डुबानमा परेको देखिन्छ भने पुलहरू भत्किएका छन् । उद्धार टोलीले डुङ्गाको सहायताले स्थानीयलाई सुरक्षित स्थानमा लैजाँदै गरेको दृश्य देखिन्छ। बालबालिकालाई बाल विकास केन्द्रमा सुरक्षित राखिएको छ । स्थानीय बासिन्दा लोङ तिआनले भने, "पानी एकाएक बढ्यो, म तेस्रो तल्लामा बसेर उद्धारको पर्खाइमा थिएँ । दिउँसोसम्म सुरक्षित स्थानमा सारिएको छु ।"
बाढीले गुआङ्सी क्षेत्रमा पनि असर पुर्याएको छ । उद्धार टोलीले प्रभावितलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिरहेको छ । गत साता मध्य चीनको हुनान प्रान्तमा पनि भारी वर्षाका कारण हजारौं विस्थापित भएका थिए । केही दिनअघि टाइफुन वुटिपका कारण दक्षिण चीनमा ७० हजार मानिस विस्थापित भएका थिए ।
यसैबीच, चिनियाँ अधिकारीले छवटा क्षेत्रमा वर्षाको कारण पहाडी बाढीको "रातो चेतावनी" जारी गरेका छन् । रातो चेतावनी चार-स्तरीय प्रणालीको सबैभन्दा गम्भीर तह हो । चरम मौसमको कारण देशभर समस्या बढिरहेको छ । बेइजिङमा यस वर्षकै अहिलेसम्मको सबैभन्दा तातो दिन मापन गरिएको छ र दोस्रो उच्च तहको गर्मी चेतावनी जारी गरिएको छ ।
वैज्ञानिकहरूका अनुसार जलवायु परिवर्तन र हरितगृह ग्यास उत्सर्जनले यस्ता चरम मौसमी घटना बारम्बार र गम्भीर बनाइरहेका छन् । चीन विश्वको सबैभन्दा ठूलो हरितगृह ग्यास उत्सर्जक भए पनि नवीकरणीय ऊर्जामा विश्वकै अगुवा मुलुकमध्ये पर्छ । चीनले सन् २०६० भित्र कार्बन उत्सर्जन शून्यमा ल्याउने लक्ष्य लिएको छ ।
प्रतिकृया दिनुहोस