• शुक्रबार-असार-१३-२०८२

सिटिजन्स म्युचुअल फण्डको ५० करोडको सदाबहार योजना सार्वजनिक


काठमाडौं, असार १३ – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको प्रवर्द्धनमा सञ्चालित सिटिजन्स म्युचुअल फण्डले ‘सिटिजन्स सदाबहार योजना’ नामक पहिलो खुला मुखी योजना सार्वजनिक गरेको छ। नेपाल धितोपत्र बोर्डबाट रु. ५० करोड सम्मको कोष संकलन गर्न अनुमति प्राप्त यस योजनाको इकाई निष्कासन २०८२ असार १३ गतेदेखि सुरु भई असार १७ गतेसम्म खुला रहनेछ। निर्धारित अवधिमा सम्पूर्ण इकाई बिक्री नभएमा निष्कासन अवधि असार २७ गतेसम्म थपिने व्यवस्था गरिएको छ।

 

उक्त योजना अन्तर्गत लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम ५ लाख इकाईसम्म आवेदन दिन सक्नेछन्। योजनामा सहभागी हुन इच्छुक व्यक्तिहरूले मेरो शेयर प्रणाली वा सी–आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरूको तोकिएको शाखाबाट आवेदन दिन सक्नेछन्।

 

सिटिजन्स क्यापिटल लिमिटेडले योजना व्यवस्थापक तथा डिपोजिटरीको भूमिकामा रहेको यस म्युचुअल फण्डले पहिलो चरणमा निष्कासित इकाईको बाँडफाँड पछि नियमन निकायको स्वीकृति प्राप्त गरी थप इकाई निष्कासन गर्ने व्यवस्था समेत मिलाउने जनाएको छ।

सफलतापूर्वक सम्पन्न ‘सिटिजन्स म्युचुअल फण्ड–१’


यसअघि सञ्चालित बन्दमुखी योजना ‘सिटिजन्स म्युचुअल फण्ड–१’ हालै सफलतापूर्वक परिपक्व भएको छ। ७ वर्षे अवधिको उक्त योजनाले प्रति इकाई रु. ११.३० को अन्तिम खुद सम्पत्ति मूल्यका साथ कर कट्टी समायोजनपछि लगानीकर्ताको हितग्राही खातामा रकम जम्मा गर्न सुरु गरेको छ।

यस योजनाले पूँजीगत लाभसहित वार्षिक औसत १२% प्रतिफल प्रदान गर्न सफल भएको छ। फण्ड व्यवस्थापक सिटिजन्स क्यापिटलले समग्र लगानीकर्ताहरूप्रति धन्यवाद व्यक्त गर्दै भविष्यमा पनि पारदर्शी र प्रभावकारी व्यवस्थापनको प्रतिबद्धता व्यक्त गरेको छ।

अभौतिकीकरण नगरिएका इकाईधनीलाई अपिल


फण्ड व्यवस्थापकले अझै भौतिक कागजमा इकाई राखेर अभौतिकीकरण नगरेका इकाईधनीहरूलाई सम्बन्धित तीनपुस्ते विवरण, बैंक खाता, हितग्राही खाता नम्बरसहित निवेदन पेश गरी रकम भुक्तानी लिन अनुरोध गरेको छ। त्यस्तै, इकाई धितोमा राखेर कर्जा लिएका इकाईधनीले सम्बन्धित बैंकबाट फुकुवा पत्र पेस गरेपछि मात्र खातामा रकम जम्मा गरिने व्यवस्था गरिएको छ।

क्यापिटलको सेवा विस्तार र पहुँच


सिटिजन्स क्यापिटल लिमिटेडले हाल वित्तीय परामर्श, पोर्टफोलियो व्यवस्थापन र म्युचुअल फण्ड सेवा प्रदान गर्दै आएको छ। कम्पनीले सिटिजन्स बैंकको देशभरका शाखामार्फत सेवा उपलब्ध गराई पूँजी बजारमा प्रत्यक्ष सहभागी हुन कठिनाई भएका लगानीकर्तालाई सहज पहुँच दिन थालेको छ।

 

यस संस्थामा कर्मचारी सञ्चय कोषसहित प्रतिष्ठित उद्योगी–व्यवसायीहरूको सह–लगानी रहेको छ। कम्पनीका अध्यक्ष राजेन्द्रलाल श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठको नेतृत्वमा क्यापिटलले नवीनतम वित्तीय उपकरणहरूको विकास गर्दै लगानीकर्तालाई आधुनिक सेवा प्रदान गरिरहेको छ।

 

निष्कर्षमा, ‘सिटिजन्स सदाबहार योजना’ खुला मुखी म्युचुअल फण्ड योजनाको सुरुवातसँगै नेपाली पूँजी बजारमा दीर्घकालीन र स्थिर आम्दानी चाहने लगानीकर्ताका लागि यो एक आकर्षक अवसर बन्ने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस