• आइतबार-असार-१५-२०८२

सैनिक आवासीय महाविद्यालय सुर्खेतमा कक्षा–११ को नयाँ भर्ना खुला


२०८२ असार १५, सुर्खेत ।  सैनिक आवासीय महाविद्यालय, महेन्द्रनगर, सुर्खेतले शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा–११ मा विज्ञान तथा व्यवस्थापन संकायमा नयाँ विद्यार्थी भर्नाको प्रक्रिया आरम्भ गरेको छ। महाविद्यालयले आन्तरिक प्रवेश परीक्षामार्फत योग्य र इच्छुक विद्यार्थीहरूलाई छनोट गर्ने जनाएको छ।

महाविद्यालयका अनुसार विज्ञान तथा व्यवस्थापन संकायका लागि आवेदन फारम वितरण तथा दर्ता कार्य २०८२ जेठ १५ गतेदेखि २० गतेसम्म सञ्चालन हुनेछ। सोही अवधिमा इच्छुक विद्यार्थीहरूले महाविद्यालयमै उपस्थित भएर वा महाविद्यालयको वेबसाइट मार्फत ‘Apply Online’ मा गई फारम भर्न सक्ने व्यवस्था गरिएको छ।

गुणस्तरीय शिक्षाको प्रतिबद्धता

नेपाली सेनाको संरक्षणमा सञ्चालित सो महाविद्यालयले नेपाली जनताका सन्तानहरूलाई मर्यादित, शिस्तबद्ध र गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ। महाविद्यालयमा भर्ना भएपछि विद्यार्थीहरूलाई पूर्ण आवासीय स्वरूपमा पठनपाठन गराइनेछ।

न्यूनतम शैक्षिक योग्यता

विज्ञान संकायतर्फ भर्ना हुन चाहने सैनिक हकवालाले अंग्रेजी, गणित र विज्ञान विषयमा कम्तीमा C+ ग्रेड हासिल गर्नु पर्नेछ भने गैर–सैनिक विद्यार्थीले ती सबै विषयमा B ग्रेड प्राप्त गरेको हुनु पर्नेछ। व्यवस्थापन संकायका लागि सैनिक विद्यार्थीले कम्तीमा C+ र गैर–सैनिक विद्यार्थीले B ग्रेड पाउनु पर्नेछ। साथै, औसत GPA 2.0 भन्दा कम हुनु नहुने स्पष्ट गरिएको छ।

लिखित परीक्षा असार २ गते

प्रवेश परीक्षाका लागि सम्पर्क तथा प्रवेश पत्र वितरण २०८२ जेठ २१ गते बिहान १० बजेदेखि हुनेछ। त्यसपछि २०८२ जेठ २२ गते शनिबार बिहान ११ बजे लिखित प्रवेश परीक्षा सञ्चालन गरिनेछ।

हकवाला र छात्रवृत्ति योजना

सैनिक हकवालाका विद्यार्थीहरूका लागि छुट्टै कोटा कायम गरिएको छ। एकल अभिभावक, एउटै सन्तान, तालिम वा सेवाका क्रममा निधन भएका सैनिकका सन्तानहरूलाई प्राथमिकता दिइनेछ। यस्ता हकवालाका लागि आवश्यक कागजातहरू जस्तै सम्बन्धित युनिटबाट जारी गरिएको सिफारिस, जन्म प्रमाणपत्र र अभिभावक परिचय अनिवार्य गरिएको छ।

प्रवेश प्रक्रिया र आवश्यक कागजातहरू

विद्यार्थीहरूले फारम भर्दा निम्न कागजातहरू अनिवार्यरूपमा पेश गर्नुपर्नेछ:

एसईई ग्रेडसिटको प्रतिलिपि

जन्म प्रमाणपत्र वा नागरिकताको प्रतिलिपि

स्थानीय तहको सिफारिस

हालसालै खिचिएको ३ प्रति पासपोर्ट साइज फोटो

सैनिक हकवालाका लागि सम्बन्धित युनिटको सिफारिस

प्रतिकृया दिनुहोस