टोरण्टो | असार १६ । सुगम संगीतका सम्राट रामकृष्ण ढकालको उपस्थितिमा क्यानडाको ब्राम्प्टन शहरमा आयोजित ‘रामकृष्ण ढकाल साँझ’ कार्यक्रम भव्य र भावुक वातावरणमा सम्पन्न भएको छ । ‘इन्टरनेशनल म्युजिक डे’को अवसर पारेर आयोजना गरिएको यो साँझले ब्राम्प्टनस्थित भुखाराग्रील रेस्टुरेन्टको हलमा नेपाली साङ्गीतिक महौल गुन्जायमान बनायो ।
कार्यक्रमको प्रारम्भमै ढकालले हार्मोनियममा साथ दिँदै "बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्..." भन्ने देशप्रेम गीत प्रस्तुत गरेपछि हल तालीको गडगडाहटले गुञ्जायमान बन्यो । विदेशको भूमिमा नेपाली माटोको सम्झनाले धेरै दर्शकहरु भावुक बने ।नेपाली सुगम संगीतको स्पर्शनेपाली संगीतका सदाबहार गीतहरू – “चरीले त छाडेर गइगयो...”, “मन पराउने हजार भेटिन्छन्...”, “माया गर्नेको...”, “ओराली लागेको...” लगायतका थुप्रै लोकप्रिय गीतहरू दर्शकहरूले प्रत्यक्ष सुने । साथमा तबलामा सन्तोष घिमिरे र गितारमा उदयराज पौडेलको सजीव तालले माहोल झनै ऊर्जावान बनाएको थियो ।
कार्यक्रममा स्वर सम्राट स्व. नारायण गोपालका लोकप्रिय गीतहरूसमेत प्रस्तुत गरिए । युगल गीतमा गायक ढकाललाई रीता बुर्लाकोटीले साथ दिइन् । दर्शकहरू गीतमा साथ दिँदै झुमेका थिए ।
ढकालको संगीत यात्राको पुनः स्मरण
सन् १९८८ तिर १३ वर्षको उमेरमै ‘ढकाल सुमधुर साँझ’ नामक एकल कार्यक्रममा हिन्दी र नेपाली गरी २२ वटा गीत गाएर चर्चा कमाएका ढकाल नेपालमै यति कम उमेरमा एकल साँझ दिने पहिलो गायक हुन् । हालसम्म उनका २० वटा एल्बम सार्वजनिक भइसकेका छन् भने उनले पाँच हजारभन्दा बढी गीत गाइसकेका छन् ।
दर्शक र आयोजकको सन्तुष्टि
प्रवासमा रहेका नेपालीहरूलाई संगीत मार्फत माटोको सम्बन्ध अनुभूति गराउने यस कार्यक्रममा दर्शकहरूको सहभागिता उत्साहजनक देखिएको थियो । कार्यक्रम संयोजक घनश्याम भट्टराईका अनुसार, “यो साँझ नेपाली गीतसंगीतलाई माया गर्नेहरूका लागि अविस्मरणीय बन्यो ।”
कार्यक्रम सफल बनाउन योगदान गर्ने सबैलाई आयोजक समितिका अध्यक्ष कमल ज्ञवालीले आभार व्यक्त गरे ।
सामाजिक उत्तरदायित्वमा पनि उदाहरणीय पहल
कार्यक्रमबाट बचत भएको रकम ब्राम्प्टनस्थित पशुपतिनाथ तथा बुद्ध मन्दिरमा पुजाआजा गरेर प्रदान गरिएको संयोजक ऋषि पोख्रेलले जानकारी दिए । असार १५ गते आइतबार बिहान मन्दिरमा विधिपूर्वक पूजा गरि उक्त रकम हस्तान्तरण गरिएको थियो । यस सामाजिक कार्यले प्रवासमा रहेका नेपालीहरुको धार्मिक आस्था र समर्पणलाई प्रतिबिम्बित गरेको छ ।
नेपाली कला, संस्कृति र धर्मप्रतिको समर्पणको संगम बनिरहेको प्रवासी भूमिमा यो साँझ ‘नेपालीपन’ झल्काउने एक सशक्त कोसेढुंगा सावित भएको छ ।
प्रतिकृया दिनुहोस