काठमाडाैं, असार १७। नेपाली कांग्रेसका केन्द्रीय नेता डा. शेखर कोइरालाले २०८२ असार १६ गते बसेको पार्टीको केन्द्रीय समिति बैठकमा पार्टी नेतृत्वप्रति कडा असन्तुष्टि पोखेका छन्। उनले पार्टी सभापति शेरबहादुर देउवालाई सोझै सम्बोधन गर्दै पार्टीलाई गुटबन्दीको खाडलबाट निकाल्नुपर्ने र वास्तविक आत्मसमीक्षा गर्नुपर्ने बेला आएको स्पष्ट शब्दमा बताए।
शुरुवातमै उनले भने, “पार्टी एक ढिक्का होस् भन्ने सुरुदेखिको मेरो धारणा हो। तर आज केही तिता यथार्थहरू बोल्दैछु, जसमा कसैले चित्त नदुखाउनु होला।”
महाधिवेशनको अनिश्चितता र जवाफदेहिता
कोइरालाले १५औं महाधिवेशन निर्धारित मिति २०८२ मंसिरमै गर्नुपर्ने माग गर्दै भने, “यदि महाधिवेशन तोकिएको मितिमा हुन सक्दैन भने त्यसको स्पष्ट कारण सभापतिज्यू र पदाधिकारीहरूले दिनुपर्छ।” उनका अनुसार हालका पदाधिकारीहरू महाधिवेशनको तयारी भन्दै देश दौडाहामा छन्, तर त्यसको उद्देश्य स्पष्ट छैन।
गठबन्धनको नीतिमाथि प्रश्न
कोइरालाले पार्टीको गठबन्धन नीति र रणनीतिप्रति गम्भीर प्रश्न उठाए। उनले स्मरण गराए, “२०७९ को निर्वाचनमा माओवादीसँग गठबन्धन गरेर गयौं, अहिले एमालेसँग सरकारमा छौं।” त्यसबारे स्पष्ट नीति र जवाफ माग्दै उनले थपे, “मैले कांग्रेस नेतृत्वमा सरकार गठन गर्नुपर्छ भनेको थिएँ, तर सत्ता नेतृत्व किन एमालेलाई दिइयो?”
संविधान संशोधनलाई आधार बनाएर गठबन्धन गरिएको दाबी गरिए पनि त्यसबारे सात बुँदे सहमति कता पुग्यो भनेर उनले प्रश्न उठाए।
अनुशासन प्रक्रियामा भेदभावको आरोप
पार्टी अनुशासन समितिको भूमिका र संरचना बारे पनि डा. कोइरालाले गहिरो असन्तुष्टि व्यक्त गरे। उनका अनुसार, “अनुशासन समितिका सदस्यहरूले कारबाहीको लागि चिठी पठाउने पनि हिम्मत गर्न सक्दैनन्।” उनले समितिको पुनर्संरचना गरी समितिमा बाह्य, वरिष्ठ र निष्पक्ष व्यक्तिहरू राख्नुपर्ने माग गरे।
उनको आरोप अनुसार एउटै प्रकृतिका घटनामा कसैलाई मात्र चेतावनी दिइन्छ भने कसैलाई निलम्बन सिफारिस गरिन्छ—यो स्पष्ट भेदभाव हो।
गठबन्धनको निर्णयले पार्टीलाई घाटा
कोइरालाले पर्सा–१ र बारा–२ जस्ता निर्वाचन क्षेत्रहरूमा गठबन्धनका कारण पार्टीले गम्भीर क्षति व्यहोरेको उदाहरण प्रस्तुत गरे। पर्सामा स्वतन्त्र उठेका कांग्रेस नेता २० हजारभन्दा बढी मत ल्याएर दोस्रो भए, तर गठबन्धनले दिएको उम्मेदवार जम्मा १,११७ मतमा सीमित भए।
उनले प्रश्न गरे, “कांग्रेसको बलियो सिट किन अरूलाई दिनुपर्यो?” उपेन्द्र यादवलाई बारा–२ मा उम्मेदवार बनाउँदा कांग्रेसको कुनै लाभ नभएको भन्दै उनले ती निर्णयमाथि गहिरो पुनर्विचार आवश्यक भएको बताए।
नेताहरूको अराजकता र नेतृत्वको कमजोरी
उनले पार्टीका वरिष्ठ नेताहरूले नै रामवरण यादवसँग जोडिएको विपी कोइरालाको शालिक अनावरण कार्यक्रम बहिष्कार गर्नु लज्जास्पद भएको टिप्पणी गरे। सप्तरी र नवलपरासीमा आफ्नै समूहका नेताहरूले कार्यक्रम बहिष्कार गरेको उल्लेख गर्दै उनले प्रश्न गरे, “विपी कोइरालाको शालिक अनावरण अवरोध गर्ने कांग्रेसी हुन् त?”
भ्रातृ संगठनहरू अस्तव्यस्त
नेविसंघ, तरुण दल, महिला संघ र दलित संघको वर्तमान अवस्था पनि कोइरालाको आलोचनाको केन्द्रमा रह्यो। उनले भने, “वर्तमान ठूला समितिहरूबाट अधिवेशन सम्भव छैन, त्यसैले पार्टीले आफैं जिम्मा लिएर प्रक्रिया अघि बढाउनु पर्छ।”
महिला संघमा अधिवेशन असम्भव हुने अवस्था रहेको उल्लेख गर्दै उनले सदस्यता नवीकरण नभएको, केन्द्रीय सदस्यहरूको राजीनामा भइसकेको र कार्यक्रमहरूमा महिलामाथि हिंसा भएको घटनाले गम्भीर ध्यानाकर्षण भएको बताए।
पार्टीमा गुट र भागबण्डा हावी
शेखर कोइरालाले पार्टी नेतृत्वमाथि गुटबन्दी र भागबण्डाको राजनीति संस्थागत गरिएको आरोप लगाए। उनले भने, “१४औं महाधिवेशनमा पराजयपछि पनि मैले गुटबन्दी नगर्ने घोषणा गरेँ। तर मेरो सहनशीलता र भद्रतालाई कमजोरी ठानियो।”
निष्कर्षमा : जवाफदेह नेतृत्व र आत्मसमीक्षाको माग
उनले स्पष्ट शब्दमा भने, “पार्टी बलियो बनाउन सबैलाई सचेत गराऔं। स्वतन्त्र उठेका आफ्ना साथीहरूलाई माफी दिऔं, उनीहरूलाई अनुशासनको कैँचीले समाप्त नगराैं।” कोइरालाको अभिव्यक्ति नेतृत्वप्रति गहिरो असन्तुष्टि मात्र होइन, पार्टीको संरचनागत समस्यामाथि गहिरो प्रहारसमेत हो।
उक्त मन्तव्यले नेपाली कांग्रेसभित्रको अन्तरविरोध, असन्तुष्टि र नेतृत्वविहीनता पुनः सतहमा ल्याइदिएको छ।
प्रतिकृया दिनुहोस