काठमाडौँ, २७ असार : गत आर्थिक वर्षको तुलनामा खानेपानी तथा ढल व्यवस्थापन विभागले चालु आर्थिक वर्षमा करिब ८३ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ ।
विगतका वर्षहरूमा तुलनात्मक रूपमा कम प्रगति हुँदै आएकामा यस वर्ष उल्लेखनीय सुधार देखिएको विभागले जनाएको छ । अघिल्लो आवमा विभागको वित्तीय प्रगति ६३ प्रतिशतमात्र रहेकामा यही असार २५ गतेसम्मको अद्यावधिक विवरणअनुसार विभागले चालु आवमा करिब ८३ प्रतिशत वित्तीय प्रगति गर्न सफल भएको विभागका महानिर्देशक इञ्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “यो विभागसहित मन्त्रालयका लागि नै ठूलो उपलब्धि हो, देशभर रहेका २० वटा सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयमध्ये म्याग्दी, इलाम र जुम्लाले उल्लेखनीय प्रगति गरेका छन् ।”
खानेपानीमन्त्री प्रदीप यादवको निर्देशन र विभागको लगनशीलताका कारण चालु आवमा वित्तीय प्रगति हासिल गर्न सकिएको मन्त्रालयले जनाएको छ । विभागको अद्यावधिक विवरणअनुसार सङ्घीय कार्यालय जनकपुरले भने सबैभन्दा कम प्रगति गरेको छ ।
अघिल्ला वर्षहरूको तुलनामा चालु आव खानेपानी तथा सरसफाइ क्षेत्रले आशातित सफलता हासिल गर्न सकेको खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय प्रमुख धनगढीका प्रमुख अरुणकुमार कर्णले बताउनुभयो ।
यसै वर्ष विभागअन्तर्गतका कार्यालयहरु स्थायी भएको र रु ११ अर्ब ६३ करोड बराबरको ८१ वटा योजनाको स्रोत सहमति प्राप्त भएको विभागका महानिर्देशक श्रेष्ठले बताउनुभयो ।
उहाँका अनुसार विश्व बैंकको सहयोगमा भेरी पम्पिङ योजनाको सम्झौता यही आर्थिक वर्षमा सम्पन्न भएको, एसियाली विकास बैंकको एकीकृत परियोजनाको मिसन चलिरहेको र आउँदो दुई महिनाभित्र योजनाको ठेक्का आह्वान हुने तयारीमा रहेको छ ।
प्रतिकृया दिनुहोस