• शुक्रबार-श्रावण-२-२०८२

गत आवमा वीरगञ्जका दुवै भन्सार कार्यालयको राजस्व सङ्कलनमा वृद्धि


वीरगञ्ज (पर्सा) : मुलुकको राजस्वको ढुकुटीमा सबैभन्दा बढी योगदान पु¥याउने वीरगञ्जस्थित वीरगञ्ज भन्सार कार्यालय र सुख्खा बन्दरगाह भन्सार कार्यालयले गत आर्थिक वर्षमा राजस्व सङ्कलनमा उल्लेखनीय वृद्धि गरेका छन् । वीरगञ्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८१/८२ भरिमा रु दुई खर्ब १८ अर्ब ९५ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखेमा सो अवधिमा भने लक्ष्यको ८० दशमलव ३५ प्रतिशत अर्थात रु एक खर्ब ७५ अर्ब ९३ करोड राजस्व सङ्कलन गरेको छ ।

 


    वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले आव २०८०/८१ को तुलनामा आव २०८१/८२ मा कार्यालयले  करिब साढे १८ अर्ब राजस्व सङ्कलन वृद्धि भएको जानकारी दिनुभयो । ‘‘कार्यालयले गत आर्थिक वर्षमा राजस्व सङ्कलनमा भने उल्लेखनीय मात्रामा वृद्धि भएको छ,’’ उहाँले भन्नुभयो,‘‘यहाँको राजस्व सङ्कलनको मुख्य हिस्सा भने पेट्रोलियम पदार्थ र सवारीसाधनको आयात नै हो ।’’ 

 

    वीरगञ्ज भन्सार कार्यालयले आव २०८०/८१ मा भने  रु दुई खर्ब ४५ अर्ब ८८ लाख ५० हजार ८१ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य पाएको थियो । सो अवधिमा कार्यालयले लक्ष्यको ६४ दशमलव एक प्रतिशत अर्थात् रु एक खर्ब ५७ अर्ब ४० करोड ३१ लाख २८ हजार रकम मात्रै राजस्व सङ्कलन गरेको थियो । वीरगञ्जकै अर्काे सुख्खाबन्दरगाह भन्सार कार्यालयले पनि गत आर्थिक वर्षभरिमा रु ४९ अर्ब ८२ करोड राजस्व सङ्कलन गरेको छ । भन्सार विभागले कार्यालयलाई वर्षभरिमा रु ६० अर्ब चार करोड ८७ लाख ९७ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो ।

 

    भन्सार विभागले सुख्खाबन्दरगाह भन्सार कार्यालयलाई आव २०८०/८१ मा रु ६५ अर्ब ९४ करोड एक लाख २२ हजार रुपैयाँ रकम राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको थियो । तर, कार्यालयले सो अवधिमा भने वार्षिक लक्ष्यको ७१ दशमलव ७५ प्रतिशत अर्थात् रु ४७ अर्ब ३१ करोड एक लाख ९० हजार रुपैयाँ रकम राजस्व सङ्कलन गरेको थियो ।

 

    प्रमुख भन्सार प्रशासक लामिछानेले वीरगञ्जका दुवै भन्सार कार्यालयले गत आव भरिमा समग्रमा रु दुई खर्ब २५ अर्ब ९५ करोड राजस्व सङ्कलन गरेको जानकारी दिनुभयो । ‘‘मुलुकभरिमा कुल भन्सार राजस्व रु चार खर्ब ८४ अर्ब सङ्कलन भएको छ । जसमध्ये यहाँका दुई भन्सार कार्यालयको समष्टिगत हिस्सा भने ४६ प्रतिशत रहेको छ ।’’ उहाँले भन्नुभयो,‘‘दुवै भन्सार कार्यालयले समग्रमा अघिल्लो आवको तुलनामा गत आवमा मात्रै १४ प्रतिशत राजस्व सङ्कलनमा वृद्धि भएको छ ।’’ 
 

प्रतिकृया दिनुहोस