तेहरान, ६ साउन । इरानले युरोपका तीन ठूला शक्ति राष्ट्र फ्रान्स, जर्मनी र बेलायतसँग फेरि एकपटक परमाणु सम्झौता गर्न सहमत भएको छ । यी तीन युरोपेली देशहरू सामूहिक रूपमा इ–३ को रूपमा चिनिन्छन् ।
उनीहरूले इरानलाई चेतावनी दिएका थिए कि यदि उसले वार्ता पुनः सुरु गर्न असफल भए भने उसमाथि अन्तर्राष्ट्रिय प्रतिबन्धहरू लगाइने छ । अब इरानले वार्ता सुरु गर्न अनुमोदन गरेको छ र यो वार्ता इस्तानबुल, टर्कीमा हुनेछ ।
इरानको सरकारी सञ्चारमाध्यमले इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईलाई उद्धृत गर्दै भनेको छ, ‘इरान, बेलायत, फ्रान्स र जर्मनीबीच उप–विदेशमन्त्री स्तरमा बैठक हुनेछ ।’ वार्ता शुक्रबार अर्थात २५ जुलाइमा हुनेछ ।
यसअघि इरान–इजरायल–अमेरिका युद्धपछि पहिलो पटक इरानी विदेशमन्त्री अब्बास अराघचीसँग बिहीबार इ–३ देशका विदेशमन्त्री तथा युरोपेली संघका विदेश नीति प्रमुखले वार्ता गरेका थिए ।
इजरायल र संयुक्त राज्य अमेरिकाले एक महिना अघि इरानको आणविक साइटहरूमा आक्रमण गरेको थियो । इरानले इजरायली आक्रमणमा अमेरिकाको संलग्नता रहेको आरोप लगाएको छ, जसले उच्च इरानी सैन्य अधिकारीहरू, आणविक वैज्ञानिकहरू र सयौं नागरिकहरूलाई मारेको थियो ।
अमेरिकाले तीनवटा प्रमुख इरानी आणविक साइटमा पनि आक्रमण गरेको र तिनीहरूलाई नष्ट गरेको दाबी गरेको छ। यो युद्ध जुन २४ मा युद्धविराम लागू भए पछि रोकिएको छ ।
इजरायल–इरान युद्ध अघि ओमानको मध्यस्थतामा तेहरान र वाशिंगटनबीच पाँच चरणको आणविक वार्ता भएको थियो। इरानको युरेनियम संवर्धनमा असहमति कायम छ, जसलाई पश्चिमी शक्तिहरूले हतियारको कुनै पनि जोखिम कम गर्न शून्यमा घटाउन चाहन्छन् ।
उल्लेखनीय छ कि सन् २०१५ मा इरानसँग भएको आणविक सम्झौतामा चीन र रुससँगै यी तीन युरोपेली देशहरू पनि सहभागी छन् । यस सम्झौतामा इरानको सामना गर्ने सबैभन्दा ठूलो पक्ष अमेरिका थियो, जसले सन् २०१८ मा एकतर्फी रूपमा सम्झौताबाट बाहिरिएको थियो ।
यो सम्झौता अनुसार इरानले आफ्नो आणविक कार्यक्रम रोक्नु पर्ने थियो र बदलामा मध्यपूर्वको यो देशमाथि लगाइएको प्रतिबन्ध हटाइएको थियो ।
प्रतिकृया दिनुहोस