• मंगलबार-श्रावण-६-२०८२

गृह मन्त्रालयको प्रशासनमा चरम बेथिति : सहसचिवको महिना दिनमै तीन पटक सरुवा

 

काठमाडौं । ०८२ असार ३१ गते गृह मन्त्रालयले अध्यागमन विमागका महानिर्देशक र त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुखमा नयाँ सहसचिवहरुलाई खटाएको छ । अध्यागमन विभागको महानिर्देशकको जिम्मेवारीमा रहेका सहसचिव गोविन्दप्रसाद रिजाललाई मन्त्रालयमा तानिएको छ । मन्त्रालयको शान्ति सुरक्षा महाशाखाका प्रमुखको जिम्मेवारीमा रहेको कनिष्ठ सहसचिव रामचन्द्र तिवारीलाई भने विभागमा खटाइएको छ । कनिष्ठ सहसचिव तिवारीलाई महानिर्देशक बनाउनका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख विष्णुप्रसाद कोइरालालाई मन्त्रालयमा तानिएको स्रोतले दावी गरेको छ ।


सहसचिव कोइरालालाई विना कारण एक डेढ महिनामै मन्त्री रमेश लेखक र सचिव गोकर्णमणि दुवाडीले मन्त्रालयमा तानेर हूर्मत लिएको भन्दै कर्मचारीहरु भने असन्तुष्ट मात्र नभएर आक्रोसित हुन पुगेका छन् । विमानस्थल अध्यागमन भने खोटाङको प्रमुख जिल्ला अधिकारी रहेका सहसचिव नरहरि घिमिरेलाई खटाइएको छ । महानिर्देशक तिवारी भन्दा कोइराला वरिष्ठ रहेकोले गृहमा सरूवा गरिएको मन्त्रालय स्रोतले जानकारी दिएको छ । कोइराला भएको कारण तिवारीलाई महानिर्देशक बनाउन मन्त्रालयको नेतृत्वलाई समस्या परेको बताइन्छ ।


सहसचिव रिजाल भने ८ महिना विभागको नेतृत्व गरेर गृहमा फर्किएका छन् । तिवारीले ६ महिना सुरक्षा तथा समन्वय महाशाखा प्रमुख भएर काम गर्ने अवसर पाएको स्रोतले बताएको छ । पर्वत निवासी सहसचिव तिवारी सहसचिवमा बढुवा हुनासाथ उद्योग विभागको महानिर्देशक बन्ने अवसर पाएका थिए । झण्डै १८ महिना महानिर्देशकको जिम्मेवारीमा रहेपछि उनी उद्योग मन्त्रालयमा फर्किएका थिए । त्यसपछि उनको सरुवा गृहमा भएको थियो ।


लगत्तै तिवारीलाई सुनसरी जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा खटाइएको थियो । त्यसबखत पनि कनिष्ठलाई महत्वपूर्ण जिल्लाको जिम्मेवारी दिएको भन्दै मन्त्रालयमा कार्यरत वरिष्ठ सहसचिवहरुले असन्तुष्टि जनाएका थिए । सुनसरीबाट मन्त्रालयमा फर्के लगत्तै तिवारीले संवेदनशील र महत्पूर्ण शान्ति सुरक्षा तथा समन्वय महाशाखाको जिम्मेवारी पाउन सफल भएका थिए । तत्कालीन मुख्यसचिव डा. शंकरदास बैरागीका अति नै विश्वासपात्र भनेर चर्चा कमाएका तिवारीलाई भाग्यमानी सहसचिव भनेर चर्चा गर्ने गरिन्छ । स्रोत भन्छ– ‘सहसचिव तिवारी अहिले पनि वर्तमान मुख्यसचिव एकनारायण अर्यालको  उत्तिकै प्रिय र विश्वासिला मानिन्छन् ।’


भिजिट भिसा काण्डपछि सहसचिव कोइरालालाई डेढ महिना अगाडि पाँचथरको सिडिओबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय प्रमुखमा खटाइएको थियो । डेढ महिना पछि नै पुन मन्त्रालयमा तानेर अपमान गरिएको कर्मचारीहरु चर्चा गर्दछन् । उनले त्रिवि अध्यागमन कार्यालयमा केही सुधारका प्रयास गरेका थिए । तरपनि भिजिट भिसा सेटिङ तोड्न भने सकेका थिएनन् । भिजिट भिसामा १४ जनालाई क्रोएशिया उड्न दिएको भन्ने आरोप उनीमाथि लगाएर मन्त्रालयमा तानिएको चर्चा गरिएको छ । तर, वास्तकिता भने अर्कै रहेको दावी मन्त्रालय स्रोतले गरेको छ । सहसचिव कोइरालालाई विमानस्थल कार्यालयबाट मन्त्रालयमा सरुवा गर्नुको मुख्य कारण कनिष्ठ सहसचिव तिवारीलाई महानिर्देशकको जिम्मेवारीमा खटाउनु नै मूल कारण मानिएको बताइन्छ ।


त्रिभुवन विमानस्थलको प्रमुख अध्यागमन अधिकृतमा सरुवा गरिएका सहसचिव घिमिरे भने ४ महिनापछि प्रजिअको जिम्मेवारीबाट सो कार्यालयमा फर्किन सफल भएका छन् । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सहसचिव एवम् प्रवक्ता रहेर पनि काम गरिसकेका हुन् । त्यसैले पनि उनले भिजिट भिसाको सेटिङमा अवैध कामदार नउडाउने मात्र नभएर तोड्ने अपेक्षा गृह मन्त्रालयको नेतृत्वले गरेको बताइन्छ ।


मानव तस्करहरूसँगको मिलेमतोमा भिजिट भिसामा रोजगारीका लागि बाहिरिने नेपालीहरूसँग विमानस्थलको अध्यागमन कार्यालयको तत्कालीन नेतृत्वले रकम असुली गरेको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको थियो । त्यसपछि लगत्तै आयोगले २०८२ जेठमा विमानस्थल अध्यागमन कार्यालयमा अकस्मात  छापा मारेको थियो । तत्कालीन विमानस्थलका अध्यागमन प्रमुखकै मिलेमतोको आशंकामा आयोगले गोप्य अनुसन्धान गरिरहेको थियो । त्यसपछि लगत्तै मन्त्रालयले प्रमुख रहेका तीर्थराज भट्टराईलाई मन्त्रालयमा तानेर सहसचिन कोइरालाई खटाएको थियो ।


भिजिट भिसा प्रकरणको समाचार सार्वजनिक भएपछि संघीय संसदमा विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकमाथि प्रश्न उठाएर राजीनामासमेत माग गरेका छन् । म्यानपावर कम्पनी तथा ट्राभल एजेन्सीका प्रतिनिधिमार्फत रकम असुलेर मिलेमतोमा नेपालीहरूलाई भिजिट भिसामा विदेश पठाउन सघाएको आशंकामा अनुसन्धान सुरु गरेको थियो । सो प्रकरणमा आयोगले अनुसन्धान भने जारी राखेको बताइन्छ । जसमा सरकारी कर्मचारी मात्रै नभएर सो प्रकरणमा संलग्न देखिएका म्यानपावर र ट्राभल एजेन्सीका फाइल पनि अध्ययन गरिरहेको बुझिएको छ ।


भिजिट भिसा प्रकरणबारे छानबिन गर्नेसहितका दुईबुँदे सहमतिपछि प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र पनि मन्त्री लेखकको राजीनामाको मागको अडानबाट रहस्यमय तरिकालेपछि हटेको थियो । यतिखेर, अख्तियारको अलावा सरकारले पनि पूर्व मुख्यसचिव शंकर बैरागीको नेतृत्वमा झारा टार्ने कार्यादेश सहित छानबिन समिति गठन गरेको छ । समितिले छानबिन प्रक्रिया अगाडि बढाएकोले पनि अध्यागमनका कर्मचारीहरूले आफ्नो गलत कार्यशैली, व्यवहारमा सुधार गर्छन् कि भन्ने अपेक्षा गरिएको छ । (साँघु साप्ताहिक, २०८२ साउन ५)
 

प्रतिकृया दिनुहोस