काठमाडौं । पब्जी मोबाईल ई स्पोर्ट्स वर्ल्ड कप खेल्ने नेपाली टिम होर ई स्पोर्ट्सलाई बिदाइ गरिएको छ ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ र ई स्पोर्ट्स संघ नेपाल (इशान) का अध्यक्ष अन्जन धमलाले खेलाडीहरुलाई बिदाइ गरेका हुन् ।
खेलाडी तथा अफिसियललाई शुभकामना दिँदै सदस्य–सचिव घिसिङले ई स्पोर्ट्स खेलमा नेपालले पछिल्लो समय राम्रो सम्भावना देखाएको उल्लेख गर्दै नेपाली टिमलाई विजेता बनेर आउन सुभेच्छा दिएका थिए ।
उनले विदेशी भुमीमा नेपालको प्रतिनिधित्व गर्दै टिम तथा खेलाडीहरुले राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका थिए । संघका अध्यक्ष अन्जन धमलाले पनि ई स्पोर्ट्सको अन्तराष्ट्रिय नतिजाका लागि सक्दो सहयोग गर्न आफूहरु तयार रहेको बताएका थिए ।
पब्जी टिममा खेलाडीको रुपमा आकाश राई, शीतल राई, सुप्रिम अधिकारी, उगेन छोपेल लामा, प्रवेश गुरुङ र आयुश लामा रहेका छन् भने म्यानेजरमा उमेश बुढथापा र अफिसियलमा सञ्जन गौतम र नवराम श्रेष्ठ सहभागी हुनेछन् ।
साउदी अरबमा जुलाई २३ देखि अगष्ट २५ तारिखसम्म सञ्चालन हुने प्रतियोगितामा होर ई स्पोर्ट्स एक्लो टिमको रुपमा छनोट भएको हो । काजकिस्तानमा गत महिना भएको पब्जी मोबाइल सुपर लिग सेन्ट्रल तथा साउथ एसियामा दोस्रो स्थानमा रहँदै होर विश्वकपमा छनोट भएको थियो । झण्डै ४१ करोड रुपैयाँ पुरस्कार राशि भएको प्रतियोगिताको विजेताले करिब ७ करोड रुपैयाँ प्राप्त गर्नेछ ।
प्रतिकृया दिनुहोस