काठमाडौं । शिक्षा केवल ज्ञान प्राप्तिको माध्यम होइन, राष्ट्रनिर्माणको बलियो जग पनि हो। यही दर्शन लिएर २५ वर्षअघि स्थापना गरिएको Kathmandu School of Law (KSL) आज नेपालकै कानूनी शिक्षा क्षेत्रको एक आदर्श संस्थाका रूपमा उभिएको छ। पूर्वाञ्चल विश्वविद्यालयसँग आबद्ध भई पाँच वर्षीय विधिशास्त्र कार्यक्रम सुरु गर्ने पहिलो संस्थाका रूपमा KSL ले शिक्षा प्रणालीमै नयाँ बाटो खोल्यो। अहिले त्यो पाठ्यक्रम नेपालका सबै प्रमुख विश्वविद्यालयहरूले अँगाल्न थालेका छन्।
तर, यति सबल र स्वाभिमानी यात्राकाे मूल्य अहिले केएसएल संस्थाले षड्यन्त्र, आक्षेप र आक्रमणको रूपमा चुकाउनु परेको छ।
मुनाफामुखी होइन, मूल्यनिष्ठ संस्थान
KSL कुनै नाफा कमाउने कम्पनी होइन। यसको आम्दानी शिक्षण गतिविधि, कलेजको पूर्वाधार र शैक्षिक स्तरवृद्धिमा मात्र खर्च हुन्छ। शिक्षक र कर्मचारीले आफ्नो तलबबाहेक अन्य लाभ लिँदैनन्। यही पारदर्शिता र आदर्श भावनाका कारण यो संस्था नेपालको कानूनी शिक्षामा वैकल्पिक मोडलको रूपमा स्थापित भएको हो।
नेपालमा विश्वविद्यालय अनुदान आयोग (UGC) बाट मान्यता प्राप्त एक मात्र कानून कलेज बन्न सफल KSL ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याती आर्जन गरिरहेको बेला अहिले विभिन्न कोणबाट यो संस्थालाई बदनाम गर्ने दुष्प्रयासहरू बढेको देखिन्छ।
किन पोल्दैछ केएसएलको लोकप्रियता ?
देश-विदेशका संभ्रान्त विद्यालयहरूबाट पढेर आएका केही सञ्जाल, जो शिक्षा क्षेत्रलाई नाफामुखी व्यवसाय बनाउने योजनामा छन्, उनीहरूलाई KSL को सफलताको कथाले पोल्न थालेको छ। यसै कारण, संस्थामाथि झुट्टा आरोप र आक्षेप लगाउने क्रम तीव्र बनेको छ।
पहिलो चरणमा यौन दुर्व्यवहारको झुटो कथा रचियो, तर प्रमाण र सन्दर्भ नभएपछि त्यो प्रयास असफल भयो। अहिले "प्राध्यापक" पदनाम लेखेको भन्दै नयाँ विवाद सिर्जना गरिंदैछ। यस्ता सतही आक्रमणहरूले केएसएलको गरिमा घट्ने होइन, बरु यस्तो आचरणबाट विरोधीहरूको नियत प्रस्ट हुँदै गएको छ।
देशभक्तिको धारामा बगेको शिक्षा
KSL को पाठ्यक्रमले केवल कानूनी शिक्षा मात्र होइन, देशप्रेम र पूर्वीय मूल्यहरूको संरक्षणमा पनि बल दिन्छ। यही कारणले यो संस्था विदेशी कलेजहरूसँग अन्धो होड नगरी, आफ्नै मौलिक शिक्षामा टिकेको छ।
तर, यथार्थ यही हो-नेपालमा विदेशी विश्वविद्यालयहरूको उपनिवेशीकरण गर्न चाहने केही संगठन र एजेन्सीहरू केएसएलको नाफारहित मोडलप्रति असहिष्णु बनेका छन् । किनभने केएसएल जस्तै संस्था उनीहरूको एजेन्डाका लागि बाधा र बाटाका काँडा हुन् । यिनको योजनाअनुसार नेपालमा कानूनी शिक्षा पनि सम्पत्तिकेन्द्रित व्यापार बन्नुपर्छ। तर केएसएल त्यसविरुद्धको एउटा दृढ किल्ला बनेर उभिएको छ।
संस्थामाथि प्रहार = विचारमाथि प्रहार
देशमा यदि स्वदेशी शिक्षण संस्थाहरू स्वाभिमानका साथ उभिन सक्दैनन् भने हामी कहिल्यै आत्मनिर्भर शैक्षिक प्रणाली निर्माण गर्न सक्दैनौं। त्यसैले KSL जस्तो संस्थामाथिको योजनाबद्ध प्रहार, केवल कुनै व्यक्ति प्र माथिको होइन, नेपालकाे वैकल्पिक, स्वतन्त्र र नाफारहित शिक्षाको मोडलमाथिकै हमला हो।
हिजो शिक्षामा लगानी नगर्नेहरू, आज विदेशी ब्रान्ड बेच्नमा लिप्त छन्। उनीहरूकाे नजरमा ‘देशभक्तिप्रति जोड दिने’ शिक्षण संस्था अपराध बनेका छन्। तर देशभक्त जनमानस, शिक्षाप्रति समर्पित समुदाय र प्राज्ञिक वर्गले यस्ता षड्यन्त्रविरुद्ध एकस्वरमा प्रतिवाद गर्नुपर्ने आवश्यकता छ।
अन्त्यमा...
Kathmandu School of Law नेपालको कानूनी शिक्षामा एउटा ऐतिहासिक उपलब्धि हो। यसको विरुद्ध भइरहेको अपप्रचारले संस्थाको मूल्य, आदर्श र मार्गदर्शन कमजोर पार्न सक्दैन। झुटा कथा रच्नेहरू असफल हुनेछन्, यदि देशभक्त जमात एक भएर सत्यको पक्षमा उभिन्छ भने।
प्रतिकृया दिनुहोस