• बुधबार-श्रावण-७-२०८२

दुई शिशुको मृ त्युपछि रौतहटमा तनाव


रौतहट, ६ साउन । रौतहट जिल्लाको कटहरिया नगरपालिका ५ स्थित प्राथमिक स्वास्थ्य केन्द्र कटहरियामा स्वास्थ्य सेवा अभाव र डाक्टरहरूको लापरवाहीका कारण लगातार दुई शिशुको मृत्यु भएको पीडित परिवारको आरोप छ । 

 


आक्रोशित स्थानीयहरूले मंगलबार प्राथमिक स्वास्थ्य केन्द्र र नगरपालिका कार्यालयमा तालाबन्दी गरेका छन् । स्थानीय पीडितमध्ये एक बाबुलाल दासका अनुसार उनकी छोरीलाई सुत्केरी हुने व्यथा लागेपछि प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको थियो । त्यहाँ नर्मल डेलिभरी (छोरा) भए पनि बच्चा नरोएपछि शिशुको नाल काटेर झाँझ फुलस्थित एक निजी क्लिनिकमा पठाइएको थियो । तर क्लिनिक पुग्नुअघि नै शिशुको मृत्यु भइसकेको थियो ।

दोस्रो घटना सोमबार साँझ कटहरिया नगरपालिका ३ बडेर्वाका मनोज साहकी छोरी पुनमलाई पनि व्यथा लागेपछि स्वास्थ्य केन्द्रमा ल्याइएको थियो । गर्भवती महिलाको भिडियो एक्सरे गरेर बच्चा जन्मन अझै १० दिन बाँकी रहेको भन्दै डाक्टरले औषधी दिई घर पठाइएको थियो । तर व्यथा झन् बढेपछि परिवारले पुनः शिवनगरस्थित एक निजी क्लिनिकमा लगेका थिए ।

 

बीच बाटोमै पुनमको नर्मल डेलिभरी भए पनि शिशुको अवस्था जटिल भएकोले बिरगंज लैजाँदै गर्दा बाटोमै शिशुको ज्यान गएको पीडित मनोज साहले बताएका छन् ।


तेस्रो घटना गत शनिबार राति भएको थियो । स्थानीय पत्रकार रविन्द्र प्रजापतीले आत्महत्याको प्रयास गरेपछि उनलाई तत्कालै उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र कटहरियामा पुर्‍याइएको थियो । तर केन्द्रमा अक्सिजनको व्यवस्था नभएकै कारण उनको पनि उपचारको अभावमा ज्यान गएको परिवारको भनाइ छ ।

 


पीडित परिवारहरु र स्थानीय बासिन्दाहरूले स्वास्थ्य केन्द्रमा अक्सिजन, औषधी, ग्लब्स जस्ता आधारभूत स्वास्थ्य सामग्रीको समेत अभाव रहेको गुनासो गरेका छन् । "स्वास्थ्य केन्द्रको हालत यति भयावह छ कि डाक्टरहरू समेत समयमा उपस्थित हुँदैनन्," स्थानीय एक बासिन्दाले बताएका छन् ।

 


तीनवटा मृत्यु घटनापछि आक्रोशित स्थानीयहरूले प्राथमिक स्वास्थ्य केन्द्र कटहरिया र कटहरिया नगरपालिकाको कार्यालयमा ताल्चा लगाउँदै दोषी डाक्टर र कर्मचारीविरुद्ध कारवाहीको माग गरेका छन् ।

 


 १ लापरवाही गर्ने चिकित्सकलाई कारवाही गरियोस् ।
२ स्वास्थ्य केन्द्रमा अक्सिजन, औषधी, आवश्यक उपकरणको तत्काल व्यवस्था गरियोस् ।
३ नगरपालिकाले प्रभावकारी स्वास्थ्य सेवा सुनिश्चित गरोस् । 
४ प्रहरी र स्थानीय प्रशासनको ध्यानाकर्षण गराउँदै पीडितहरूले न्यायको माग गर्दै तालाबन्दी गरेका थिए ।

 

कटहरियाका मेयर अजय प्रकाश जैसवालको लापरवाहीको कारण प्राथमिक स्वास्थ कार्यालयको अवस्था दयनीय भएको स्थानीयहरुको आरोप रहेको छ ।

 

यसैबीच स्वास्थ केन्द्र र नगरपालिकाको ताला खुलाउन इलाका प्रहरी कार्यालय कटहरियाको प्रागणमा नगर स्वास्थ संयोजक डाक्टर र स्थानीयहरु बीच छलफल जारी रहेको सहभागी कार्यपालिका सदस्य मनोज कुमार जैसवालले बताएका छन् ।

 

 

प्रतिकृया दिनुहोस