२०८२ साउन ९, काठमाडौं – सौर्य एयरलाइन्सको जहाज दुर्घटना सम्बन्धमा गठित संसदीय छानबिन उपसमितिका संयोजक तथा सांसद राजेन्द्र पाण्डेले सौर्य एयरलाई खारेज गर्नुपर्ने र जहाज चालकलाई हदैसम्मको कारबाही गर्नुपर्ने माग गरेका छन्।
साउन ९ गते शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै पाण्डेले सौर्य एयरलाइन्सका सञ्चालक दीपक पोखरेललाई प्रधानमन्त्री केपी शर्मा ओलीको "भित्री संरक्षण" रहेको आरोप लगाए। पीडित परिवारद्वारा स्थापना गरिएको म्याप मेमोरियल सोसाइटीले संवाद डबलीमा आयोजना गरेको स्मृति कार्यक्रममा बोल्दै पाण्डेले भने, “झापाली सम्वन्धका कारण पोखरेललाई राजनीतिक संरक्षण दिइँदैछ। शक्तिको आडमा चलाउन नमिल्ने जहाज जबरजस्ती उडाइएको छ।”
पाण्डे अनुसार, "विमान मर्मतको अवस्थामा हुँदाहुँदै पनि पुनः उडान गरिनु, नियमविपरीत यात्रुहरु राखिनु र प्रज्वलनशील सामग्री बोकिनु गम्भीर त्रुटि हो।" उनले पर्यटन मन्त्रालयलाई दोषीमाथि कारबाही गर्न निर्देशन दिने तयारी रहेको पनि बताए।
पूर्व मुख्यमन्त्री समेत रहेका सांसद पाण्डेले घटनामा गम्भीर मानवीय लापरबाही भएको ठोकुवा गर्दै भने, “मर्मतको लागि भनिएको जहाजमा १९ जना यात्रु कसरी चढे ? प्रिजा खतिवडा र ४ वर्षका बालकलाई झुटो हैसियत देखाएर किन उडाइयो ?”
कार्यक्रममा अधिवक्ता अर्जुन खड्काले, "पीडित परिवारको दबाबपछि ढिलै भए पनि रतिशचन्द्र लाल सुमनको नेतृत्वमा गठित आयोगले प्रतिवेदन बुझाएको सुखद पक्ष हो," भन्दै कानूनी प्रावधानअनुसार दोषीमाथि कारबाही गर्न सकिने बताए।
त्रासदीमा तीन सन्तान गुमाएका पत्रकार प्रकाश खतिवडाको आक्रोश
दुर्घटनामा छोरी, ज्वाइँ र नातिको ज्यान गुमाएका पत्रकार प्रकाश खतिवडाले न्यायिक जाँच आयोग गठनको माग गरे। प्रारम्भिक र अन्तिम प्रतिवेदनबीच तथ्यगत भिन्नता रहेको भन्दै उनले नागरिक उड्डयनको नियमनसम्बन्धी नियमावली २०७१ को दफा २३ बमोजिम न्यायिक जाँच आवश्यक रहेको बताए।
“३४ दिनदेखि त्रिभुवन विमानस्थलमा थन्किएको जहाज मर्मत नगरि किन उडाइयो ?” खतिवडाले प्रश्न गरे, “त्यो जहाज मर्मत गर्न पोखरा लैजाने निर्णयमा के आधार थियो ? फेरि त्यो उडान मर्मत उडान हो कि व्यापारिक उडान ?”
खतिवडाले छानबिन समिति सदस्य मुकेश डंगोलले चालक मनिष शाक्यका आफन्त भएकाले प्रतिवेदनमा उन्मुक्ति दिने प्रयास गरेको आरोप पनि लगाए।
स्मृति पुरस्कार घोषणा
कार्यक्रममा म्याप मेमोरियल सोसाइटीले दिवंगत प्रिजा खतिवडा, मनुराज शर्मा र अधिराज शर्माको सम्झनामा “मनुराज–अधिराज–प्रिजा स्मृति पुरस्कार” स्थापना गर्ने घोषणा गर्यो। पत्रकार, प्राविधिक र निजामती सेवामा योगदान पु-याउने व्यक्तिलाई हरेक वर्ष यो पुरस्कार प्रदान गरिनेछ।
कार्यक्रमको अध्यक्षता सोसाइटीका संरक्षक उषा पोखरेलले गरेकी थिइन् भने सञ्चालन पत्रकार धनराज वास्तविकले गरेका थिए। कार्यक्रममा भूपराज खड्का, सञ्जीव भण्डारी, सुसिल दाहाल, धिरज ढकाल, समिर खतिवडालगायत पीडित परिवारका सदस्यहरूको उपस्थिति थियो।
प्रतिकृया दिनुहोस