• शनिबार-श्रावण-१०-२०८२

‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ घोषणा : पाँच विशिष्ट व्यक्तित्वलाई सम्मान

साहित्य साधनामा समर्पित डा. कपिल लामिछानेलाई मूल पुरस्कार
प्रा. डा. कपिल लामिछाने, नवराज श्रेष्ठ, सरोज अधिकारी , डा. मञ्जु र भवानी

काठमाडौं, साउन १० गते । समर्पित साहित्य साधक, सेवाभावी चिकित्सकदेखि भविष्यका उज्वल प्रतिभासम्मलाई समेट्दै ‘साहित्य सन्ध्या’ले २०८१ सालका पाँचवटा ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अर्पण गर्ने निर्णय गरेको छ। २०८२ साउन ९ गते शुक्रबार साँझ बसेको कार्यसमिति बैठकले स्रष्टा चयन समितिको सिफारिसका आधारमा पुरस्कार घोषणा गरेको हो।

साहित्य साधनामा समर्पित डा. कपिल लामिछानेलाई मूल पुरस्कार

नेपाली साहित्यको विविध विधामा पाँच दशकभन्दा बढी समयदेखि अनवरत साधना गरिरहेका प्रा. डा. कपिल लामिछानेलाई २०८१ सालको ‘साहित्य सन्ध्या पुरस्कार तथा सम्मान’ अर्पण गरिने भएको छ। २०१५ साल असोज २४ गते कास्कीको माझठानामा जन्मिएका लामिछाने त्रिभुवन विश्वविद्यालयका विद्यावारिधिसमेत हुन्।

कथा, लघुकथा, कविता, निबन्ध, समालोचना, लोकसाहित्य र बालसाहित्यमा कलम चलाउँदै आएका लामिछानेका पाँच दर्जनभन्दा बढी कृति प्रकाशित छन्। प्रगतिशील दृष्टिकोणका साथ नेपाली समाजको विसङ्गतिमा चोटिलो हस्तक्षेप गर्ने उनको साहित्यिक पहिचान रहेको छ। उनलाई रु. २१ हजार १ सय राशिको पुरस्कार प्रदान गरिनेछ।

नवराज श्रेष्ठलाई सहभागिता पुरस्कार

धादिङको जोगिमारा निवासी कवि नवराज श्रेष्ठले वर्षभरि साहित्य सन्ध्याका ११ गोष्ठीमध्ये १० मा कविता वाचनसहित सक्रिय सहभागिता जनाएका कारण ‘साहित्य सन्ध्या सहभागिता पुरस्कार’का लागि छनोट गरिएको छ। उनी रु. ५ हजार राशिको पुरस्कारका साथ सम्मानित हुनेछन्।

स्वास्थ्य सेवा र शिक्षामा योगदान पुर्‍याउने मञ्जु दाहाल सम्मानित

नेपालकी पहिलो महिला अकुपन्चरिस्ट डा. मञ्जु दाहाललाई ‘साहित्य सन्ध्या–मन (मदनप्रसाद सत्याल–नर्मदेश्वरी सत्याल) पुरस्कार तथा सम्मान’ प्रदान गरिनेछ। जापानमा स्नातक अध्ययन गरी नेपालमा चिकित्सा शिक्षादेखि सेवा क्षेत्रमा अतुलनीय योगदान पुर्‍याइरहेकी दाहाल विगत दशकभन्दा बढी समयदेखि ‘ग्रामीण स्वास्थ्य शिक्षा तथा सेवा केन्द्र’मा प्राचार्यको रूपमा कार्यरत छिन्। पुरस्कार राशी रु. १० हजार रहेको छ।

अभावबीच पनि अध्ययनमा अब्बल विद्यार्थीलाई प्रोत्साहन

काभ्रेको दाप्चा निवासी सरोज अधिकारी विपन्न पारिवारिक पृष्ठभूमिमा हुर्किएर पनि अध्ययनमा अनुशासित, मिहिनेती र जेहेन्दार विद्यार्थीका रूपमा उदाएका छन्। त्रिवि अन्तर्गत दाप्चा बहुमुखी क्याम्पसमा बीबीएस दोस्रो वर्षमा अध्ययनरत अधिकारीलाई रु. १० हजार राशिको ‘साहित्य सन्ध्या–कृबा (कृष्णचन्द्र–बालकुमारी) पुरस्कार तथा सम्मान’ प्रदान गरिनेछ।

नियात्रा साहित्यमा योगदान गर्ने भवानी खतिवडा सम्मानित

नेपाली नियात्रा विधामा विशेष योगदान पुर्‍याउने त्रिभुवन विश्वविद्यालयकी स्नातकोत्तर भवानी खतिवडालाई ‘साहित्य सन्ध्या–हरिप्रिया हरिप्रसाद चापागाईँ नियात्रा पुरस्कार तथा सम्मान’ प्रदान गरिनेछ। उदयपुरमा जन्मेकी र हाल नेपाल सरकारको सेवामा कार्यरत खतिवडाले ‘घामभन्दा पहिले’, ‘चारखोलाको आँगनीमा’, ‘आकाश ओढेको डोल्पो’ र ‘प्रणाम सगरमाथा’ जस्ता चर्चित नियात्रा कृति प्रकाशित गरेकी छन्। पुरस्कार राशी रु. १० हजार रहेको छ।

स्रष्टा चयन समिति र समारोहको घोषणा

यस वर्षको स्रष्टा चयन कार्य वयोवृद्ध साहित्यकार वासुदेव अधिकारीको संयोजकत्वमा नमुना शर्मा र प्रशान्त खरेल रहेको समितिले गरेको सिफारिसका आधारमा गरिएको हो।

उल्लिखित सबै सम्मान यही २०८२ भदौ ७ गते शनिबार अपराह्न १ बजे पद्मकन्या क्याम्पसको डेनिस हलमा आयोजना हुने विशेष समारोहमा प्रदान गरिनेछ, साहित्य सन्ध्याका अध्यक्ष राम विनयले जानकारी दिए।

-sanghunews.com

प्रतिकृया दिनुहोस