• बिहीबार-श्रावण-१५-२०८२

राष्ट्रपति–महिला उत्थान कार्यक्रमबाट आमा र शिशुको ज्यान जोगियो


काभ्रेपलाञ्चोक, १४ साउन : डाँडापारिस्थित महाभारत गाउँपालिका–१ गोकुलेकी एक गर्भवतीको मङ्गलबार  हेलिकप्टरबाट उद्धार गरिएको छ । साथै जोखिममा परेको आमा र शिशुको जीवन जोगिएको छ । सोमबार साँझदेखि सुत्केरी बेथा लागेर स्थानीय स्वास्थ्यचौकीमा भर्ना हुनुभएकी २१ वर्षीया रेनुका लुङ्गेलीलाई उद्धार गरिएको हो ।

 

गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाका अनुसार गोकुले स्वास्थ्यचौकीमा छटपटाउनुभएकी उहाँलाई राष्ट्रपति महिला उद्धार कार्यक्रमको आर्थिक सहयोगमा हेलिकप्टरबाट उद्धार गरिएको हो । उहाँलाई काठमाडौँस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा भर्ना गरिएको स्वास्थ्यचौकीकी प्रमुख पूर्णिमा तुम्सिङले बताउनुभयो । 

 

यसअघि गत शुक्रबार दिउँसो महाभारत–७ बनखुकी गर्भवती २८ वर्षीया देवकुमारी पाख्रिनको हेली एम्बुलेन्सबाट उद्धार गरिएको थियो । महाभारत गाउँपालिकामा अधिकांश सडक कच्ची छन् । वर्षाका कारण यी सडकमा नियमित रूपमा सवारीसाधन सञ्चालन हुने अवस्था नभएकाले हेलिकप्टरबाट  गर्भवतीको उद्धार गर्नुपर्ने बाध्यता छ ।

 

पालिका अध्यक्ष जिम्बाले  दुर्गम क्षेत्रमा राष्ट्रपति–महिला उत्थान कार्यक्रम प्रभावकारी बनेको बताउँदै ग्रामीण भेगका धेरै महिला त्यसबाट लाभान्वित भएका  जानकारी दिनुभयो ।
---

 

 

प्रतिकृया दिनुहोस