• बिहीबार-श्रावण-१५-२०८२

सडक योजना भद्रगोल, गाउँपालिकाको १२ पटक ध्यानाकर्षण गराउँदा पनि भएन सुनुवाइ 


रामेछाप । पूर्वाधार विकास कार्यालय रामेछाप र निर्माण व्यवसायीको लापरबाहीको कारण रामेछापमा निर्माणाधीन सडक आयोजना अलपत्र परेका छन् । जिल्लाको गोकुलगंगा गाउँपालिकामा निर्माणाधीन सडक योजना अलपत्र हुँदा नागरिकले हैरानी खेप्नु परेको छ । 


खिम्ति–फर्पु–नामाडी–बेताली– रस्नालु– ठोस सडकको रस्नालु गाउँपालिकामा पर्ने ९ किलोमिटर सडक समयमा नबन्दा सो सडक भएर यात्रा गर्ने यात्रीहरूले सास्ती बेहोरिरहेका छन् । गोकुलगंगा गाउँपालिकामा ९ किलोमिटर कालोपत्रे सडक निर्माणका लागि २०८० को असार मसान्तमा काम सुरु भएको थियो । तर हालसम्म पनि सडक निर्माणको काममा ५० प्रतिशत पनि प्रगति भएको छैन । 

बेताली–रस्नालु–गर्जाङ सडकको बेताली–भिमसेनस्थान खण्डको ४.५ किलोमिटर सडक निर्माणको लागि ईश्वरी कन्स्ट्रक्सन प्रालिले जिम्मा लिएको थियो । त्यस्तै दार्खाखोला–बुर्के–धारापानी खण्ड ४.५ किलोमिटर सडक निर्माणको जिम्मा पाँचपोखरी निर्माण सेवाले पाएको छ ।


स्थानीय सचिन कार्कीका अनुसार दुवै सडक खण्डको निर्माण अति सुष्त गतिमा भएको छ । ‘व्यवसायी भन्छन् रकम निकासा भएन, कार्यालय भन्छ व्यवसायीले काम गरेन, यी दुई पक्षबिचको आरोप प्रत्यारोपको हैरानी भने स्थानीयले खेप्नु परेको छ’, उनले भने । 

 

सडकमा निर्माणको काम अति सुस्त रहेको गोकुलगंगा गाउँपालिका–५ नामाडीका वडा अध्यक्ष दीपक कार्कीले बताउँछन् । ‘म्याद थप्ने, काम नगर्ने प्रवृत्तिले हैरान पारेको छ’, उनले भने । उनका अनुसार आर्थिक वर्ष २०८०÷०८१ मा काममा केही प्रगति भए पनि २०८१÷०८२ मा काम ठप्पजस्तै रह्यो । अहिले पूर्वाधार विकास कार्यालय रामेछापका प्रमुख ज्यानेन्द्र प्रसाद पुनको नेतृत्वमा डोजरले मनपरी काम गर्दा सडक झनै बिग्रिएको उनले बताए ।


निर्माण व्यवसायीले समयमै काम नसकेका कारण सडकको अवस्था अस्तव्यस्त रहेको गोकुलगंगा गाउँपालिका अध्यक्ष काजीबहादुर खड्का दिनेशको गुनासो छ । ‘सडक पानी पर्दा हिलाम्मे, घाम लाग्दा धुलाम्मे हुने अवस्था छ, जोखिम मोलेर यात्रा गर्नुपरेको छ’, उनले भने । 


गाउँपालिकाले यसबिचमा सम्बन्धित निकायलाई १२ पटकसम्म ध्यानाकर्षण पत्र काटेको भए पनि ठोस परिणाम नआएको उनले गुनासो गरे । निर्माण व्यवसायीले पूर्वाधार कार्यालय लगायत कसैलाई पनि नटेरी काम नगरेको अध्यक्ष खड्काको आरोप छ । 


यी दुई खण्ड सडकका लागि ३० करोड रुपैयाँ भन्दा बढी बजेट विनियोजन भएको छ । बेताली–भिमसेनस्थान खण्डको लागि १५ लाख ३९ हजार र दार्खाखोला–बुर्के–धारापानी खण्डको लागि १४ करोड ८५ लाख रुपैयाँ बजेट रहेको पूर्वाधार विकास कार्यालय रामेछापका सूचना अधिकारी इन्जिनियर दोर्णबहादुर चौधरीले बताए । उनले सडक योजनाको काम सक्न निर्माण व्यवसायीले पटक–पटक ताकेता गर्दा पनि काम हुन नसकेको स्विकारे । 


२०८२ असार मसान्तसम्म काम सम्पन्न गर्ने सर्तमा सम्झौता भएको भए पनि हालसम्म ५० प्रतिशत मात्रै काम सम्पन्न भएको छ, अब पनि काम नगरे क्षतिपूर्तिसहित कानुनी प्रक्रिया अगाडि बढाइनेछ’, उनले भने । 

 

सम्झौतामा निर्माणका क्रममा सडक आवतजावतमा अवरोध नहुने व्यवस्था गर्नुपर्ने प्रावधान रहे पनि निर्माण व्यवसायीले त्यसप्रति ध्यान नदिँदा सडक अस्तव्यस्त बनेको उनले बताए ।
 

 

प्रतिकृया दिनुहोस