काभ्रेपलाञ्चोक, १४ साउनः सरकारी कागजातसहित जनप्रतिनिधिलगायतको दस्तखत र छाप कीर्ते गर्ने दुई जनालाई काभ्रेपलाञ्चोक प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले काठमाडौँको बानेश्वरमा ‘साइबर’समेत सञ्चालन गर्दै आएका एक व्यक्ति र अर्का एकबाट विभिन्न सरकारी कार्यालय, जनप्रतिनिधि, राजनीतिक दल तथा व्यक्तिको दस्तखतवाला छापसहित उपकरण र नगद बरामद गरिएकालाई जिल्ला सदरमुकाम धुलिखेलमा आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।
पक्राउ पर्नेमा धुलिखेल नगरपालिका–१२ घर भई काठमाडौँ बस्दै आएका ३८ वर्षीय जितेन्द्र तामाङ र गोरखाको सहिद लखन गाउँपालिका–१ घर भई काठमाडौँ महानगरपालिका–३१ नयाँबानेश्वरस्थित शङ्खमूलमा गज्जबको फोटोकपी एन्ड स्टेसनरी सेन्टर सञ्चालन गर्ने ४१ वर्षीय किरण अर्याल रहेका छन् ।
दुवै जनालाई लिखतसम्बन्धी कसुर (सरकारीछाप–दस्तखत कीर्ते) मुद्दामा मङ्गलबार म्याद थप गरी जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिनुभयो ।
घलेका अनुसार मङ्गलबार धुलिखेल नगरपालिका–१२ को वडा कार्यालयको लेटरप्याड, छाप तथा वडाअध्यक्षको सहीसमेत कीर्ते गरी नक्कली कागजात बनाएको घटनाको अनुसन्धान गर्दै जाने क्रममा अर्यालको साइबर र तामाङका साथबाट वडाअध्यक्षको ‘वार्ड चियरपर्सन’ लेखिएको छापसहित विभिन्न सङ्घसंस्थाको २६ थान छाप, रु ६८ हजार ७०० नगद, विभिन्न मुलुकको १४ थान नोट, दुई थान नागरिकता, पासपोर्ट तथा विभिन्न संस्थाको कागजात, ११ थान पेन–ड्राइभ, एक थान कम्प्युटरको सिपियू र दुई थान हार्ड–ड्राइभ बरामद गरिएको छ ।
तामाङले नाता प्रमाणित गर्न वडा कार्यालय जाने तयारी गरिरहेका बेला साइबर सञ्चालक अर्यालले वडा कार्यालयसम्म पुग्नु पर्दैन यहीबाट बनाई दिन्छु रु ७५० दिनु भन्दै धुलिखेल नगरपालिका–१२ शङ्खुपाटीचौरको लेटरप्याड, छाप र वडाअध्यक्षको छापसहितको दस्तखत तयार गरिदिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
---
प्रतिकृया दिनुहोस