सुदूरपश्चिम, १५ साउन : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशसभाबाट विश्वासको मत पाउनुभएको छ ।
प्रदेशसभाको आजको बैठकले विश्वासको मतका लागि पेस गरिएको प्रस्तावलाई मत विभाजनको प्रक्रियाद्वारा निर्णयार्थ पेस गरिँदा मुख्यमन्त्री शाहको प्रस्तावको पक्षमा बहुमत प्राप्त भएको हो ।
सभामुख भीमबहादुर भण्डारीले मुख्यमन्त्रीले पेस गर्नुभएको प्रस्तावको पक्षमा ३० मत परेको र यो सङ्ख्या प्रदेशसभामा तत्काल कायम रहेको सम्पूर्ण सङ्ख्याको बहुमत भएकाले मुख्यमन्त्रीले पेस गर्नुभएको प्रस्ताव बहुमतले पारित भएको घोषणा गर्नुभयो ।
आजको बैठकमा प्रदेशसभा सभामुखसमेत ४६ सदस्य सहभागी रहेकामा मुख्यमन्त्रीको प्रस्तावका पक्षमा ३०, विपक्षमा १५ मत परेको थियो । बहुमतका लागि २७ मत आवश्यक हुन्छ ।
नेपाली कांग्रेसका १८ नेकपा (एमाले)का ११ र नागरिक उन्मुक्ति पार्टीका एक सदस्यले मुख्यमन्त्रीको प्रस्तावका पक्षमा मत दिनुभयो । नेकपा (माओवादी केन्द्र)का सभामुखबाहेक १०, नेकपा (एकीकृत समाजवादी)पार्टीका (निलम्बित एक सदस्यबाहेक) तीन, राप्रपाका एक र स्वतन्त्र एक सदस्यले विपक्षमा मत दिनुभयो ।
नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिएपछि विश्वासको मत लिनुभएका मुख्यमन्त्रीलाई नागरिक उन्मुक्तिकै कैलाश चौधरीले भने विश्वासको मत दिनुभएको छ । सो पार्टीका अन्य छ जना सदस्य भने बैठकमा अनुपस्थित हुनुहुन्थ्यो ।
यसअघि प्रस्ताव पेस गर्नुहुँदै मुख्यमन्त्रीले प्रदेशमा सुशासन र समृद्धिका लागि सुधारका कार्य गर्नुपर्छ भन्ने महसुस गरेर नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा सहभागी गराइएकामा मन्त्रिपरिषद् हेरफेरपछि सिर्जित प्रश्नहरुका कारण विश्वासको मत लिनुपर्ने भएकाले यो प्रस्ताव पेस गरेको बताउनुभयो ।
मुख्यमन्त्रीले आफ्नो नेतृत्वको सरकारले गरेका महत्वपूर्ण कामको चर्चा गर्नुहुँदै प्रदेशमा राजनीतिक स्थायित्व र समुन्नतिको सहयात्राको निरन्तरताका लागि सरकारलाई विश्वासको मत प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।
सरकारमा सहभागी दल नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले गत असार २० गते सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । त्रिपन्न सदस्यीय प्रदेशसभामा भ्रष्टाचारको आरोप लागेका नेकपा (एकीकृत समाजवादी)का दीर्घबहादुर सोडारी निलम्वित हुनुहुन्छ ।
---
प्रतिकृया दिनुहोस