काठमाडौं, साउन १५ – नेपाली कांग्रेसको पेशागत तथा बुद्धिजीवी विभाग प्रमुख तथा पूर्व सांसद डा. डिला संग्रौला पन्तले लोकतन्त्र युवाविना अधुरो हुने बताएकी छिन्।
काठमाडौँस्थित प्रज्ञा कुञ्ज स्कुलले आयोजना गरेको नमुना संघीय सभा (मोडल संसद्) कार्यक्रममा प्रमुख अतिथि रूपमा सम्बोधन गर्दै उनले युवालाई लोकतन्त्रको भविष्यका वाहकको रूपमा चित्रण गरिन् ।
"तपाईंहरू परिवर्तनका वाहक हुनुहुन्छ," संग्रौलाले भनिन्, "गुनासो मात्रै होइन, समाधान पनि खोज्ने बानी गरौं। लोकतन्त्रलाई गाली होइन, जिम्मेवारी चाहिन्छ। तपाईंको सोच, आवाज र निर्णयले देश बदल्न सक्छ।"
उनले संविधान संशोधन आवश्यक भएको उल्लेख गर्दै त्यसको नेतृत्व कांग्रेसले लिने दाबी समेत गरिन्। "गएको एक दशकको अनुभवले संविधान संशोधन आवश्यक देखिएको छ। त्यसको नेतृत्व कांग्रेसले लिनुपर्छ, र लिन लागिरहेको छ," उनले भनिन्।
शिक्षा र युवाको सशक्तिकरणमा जोड
डा. संग्रौलाले सार्वजनिक शिक्षालाई सुदृढ बनाउने, निजी शिक्षालाई नियमन गर्ने र प्राविधिक शिक्षालाई प्रोत्साहन गर्ने कांग्रेसको नीतिगत अडान दोहोर्याइन्। युवामा स्वरोजगार र स्टार्टअप प्रवद्र्धन गर्न राज्यले विशेष नीति तथा कार्यक्रम ल्याउनुपर्ने धारणा समेत राखिन्।
उनले संसद्को मर्यादा र महत्वबारे धारणा राख्दै भनिन्, “संसद नीति निर्माणको मञ्च मात्र होइन, कार्यपालिका माथिको निगरानी र जनताको आवाज प्रतिनिधित्व गर्ने थलो पनि हो। यसको मर्यादा कायम राख्न राजनीतिक दलहरू जिम्मेवार बन्नुपर्छ।”
कार्यक्रमको उद्देश्य र विद्यालयको पहल
विद्यालयकी प्रिन्सिपल तथा निर्देशक सुनिता पौडेलले कार्यक्रमको उद्देश्यबारे जानकारी दिँदै भनिन्, “विद्यार्थीहरूलाई संघीय प्रणाली, कानुन निर्माण प्रक्रिया, आत्मविश्वास, वक्तृत्व कला तथा सामाजिक अन्तरक्रियामा दक्ष बनाउन यो कार्यक्रम गरिएको हो।”
उनले कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैप्रति आभार प्रकट गरिन्।
यसरी, नमुना संघीय सभाको माध्यमबाट युवा विद्यार्थीहरूलाई सैद्धान्तिक मात्र नभई व्यवहारिक राजनीति र लोकतान्त्रिक अभ्यासमा समेत संलग्न गराउने पहल प्रज्ञा कुञ्ज स्कुलले गरेको देखिन्छ। कांग्रेस नेतृ डा. डिला संग्रौलाको सक्रिय सहभागिता र स्पष्ट सन्देशले युवामा लोकतान्त्रिक चेतना बढाउने अपेक्षा गरिएको छ।
प्रतिकृया दिनुहोस