• आइतबार-श्रावण-२५-२०८२

जनै पूर्णिमामा नेपाली सेनाको उच्च हिमाली स्वास्थ्य सेवा: भक्तजनको प्रशंसा

काठमाडाैं, साउन २४ गते । जनै पूर्णिमाको अवसरमा नेपाली सेनाले भक्तजनहरूलाई लक्षित गर्दै देशका तीनवटा प्रमुख धार्मिक तथा तीर्थस्थलहरूमा विशेष सहायता/स्वास्थ्य कक्ष र निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।

यस अन्तर्गत सोलुखुम्बुस्थित दुधकुण्ड, रसुवाको चन्दनबारीस्थित गोसाईकुण्ड र बाजुराको बडीमालिका मन्दिर क्षेत्रमा भक्तजनलाई स्वास्थ्य सेवा प्रदान गरिएको हो। यी स्थानहरू उच्च हिमाली क्षेत्र भएकाले तीर्थयात्रीहरूलाई लामो पैदल यात्रापछि देखिन सक्ने स्वास्थ्य समस्या-जस्तै, श्वासप्रश्वासमा कठिनाई, उच्च रक्तचाप, अत्यधिक थकान, चिसोबाट हुने रोग, तथा दुर्घटनाजन्य चोटपटक-को उपचारका लागि सेना सधैं तत्पर रहेको जनाइएको छ।

सेनाको श्रीनाथ गण, दुर्गाबक्स गण र ईश्वरीबक्स गुल्मको संयुक्त पहलमा सञ्चालन गरिएका यी स्वास्थ्य कक्षहरूले तत्काल स्वास्थ्य परीक्षण, आवश्यक औषधि वितरण, प्राथमिक उपचार, र आपत्कालीन अवस्थामा उद्धारको व्यवस्था समेत गरेका थिए। उच्च हिमाली क्षेत्रमा आकस्मिक अवस्था आएमा सेनाको हेलिकप्टरमार्फत उद्धार कार्यको समेत तयारी गरिएको थियो।

जनै पूर्णिमामा ठूलो संख्यामा भक्तजनहरू गोसाईकुण्ड, दुधकुण्ड र बडीमालिकामा पुग्ने भएकाले, यी शिविरहरूले हजारौं यात्रुहरूलाई लाभ पुर्‍याएको सेनाले जनाएको छ। विशेष गरी वृद्ध, बालबालिका, गर्भवती महिला, र स्वास्थ्य समस्या भएका व्यक्तिहरूले सेनाको यो सेवा उपयोग गरेका थिए।

 

भक्तजनहरूले नेपाली सेनाको सक्रियता र मानवीय सेवाको उच्च प्रशंसा गरेका छन्। “उच्च हिमाली क्षेत्रमा यस्तो स्वास्थ्य सेवा पाउँदा निकै राहत भयो,” एक भक्तजनले भने। अर्काेले थपे, “नेपाली सेनाले निःस्वार्थभावले दिएको सहयोगका लागि हामी आभारी छौं।”

 

नेपाली सेनाका अनुसार, यस प्रकारका स्वास्थ्य कक्ष र सहायता सेवा आगामी वर्षहरूमा अझ सुदृढ गर्दै लैजाने योजना छ। सेनाले धार्मिक तथा सांस्कृतिक अवसरहरूमा मात्र नभई प्राकृतिक विपत्ति, महामारी वा अन्य जटिल अवस्थामा पनि नागरिकको जीवन रक्षाका लागि आफ्नो भूमिका निर्वाह गर्दै आएको छ।

 

जनै पूर्णिमा केवल धार्मिक श्रद्धा मात्र नभई, स्वास्थ्य सचेतना र आपतकालीन तयारीको पनि अवसर बन्न सकेको यो पहल नेपाली सेनाको सामाजिक उत्तरदायित्वको उदाहरणका रूपमा देखिएको छ।

(तस्बिर : नेपाली सेना)

प्रतिकृया दिनुहोस