• आइतबार-श्रावण-२५-२०८२

माओवादीमा ‘चक्रिय नेतृत्व’ बहस : कमरेड प्रभाकरको प्रस्तावले हलचल

उपमहासचिव जनार्दन शर्मा

 

काठमाडौं । माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मालाई स्थायी कमिटीको बैठकमा नै दबाबमा राखिएको खबर छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको रणनीति नै स्थायी कमिटीमा दबाबमा पारेर केन्द्रीय कमिटीका अन्य सदस्यहरुले बोल्ने अवस्था नआओस् भन्ने देखिएको छ । अहिले प्रचण्डले कमरेड शर्मालाई अघोषित रुपमा आत्मालोचना गराउन लगाएका छन् । शर्माको पक्षमा भने स्थायी कमिटीमा कोही पनि देखिएका छैनन् । सचिव राम कार्कीले उनको पक्षजस्तो देखिने गरी धारणा भने राखेका थिए । नेतृत्वबाट प्रचण्डले हट्नु पर्ने र विशेष भूमिकामा रहनुपर्ने शर्माले दावी गरेका छन् । उनको यो तर्कसँगै चक्रीय प्रणालीमा अध्यक्ष हुनुपर्ने व्यवस्था गर्न पनि उनले उल्लेख गरेका छन् । 


  कार्कीले शर्मालाई पूर्ण समर्थन नगरेपनि प्रचण्डमाथि प्रश्न भने उठाएका थिए । ती प्रश्नका कारण कार्कीको भूमिका शर्माको पक्षमा देखिए पनि उनले पूर्णसाथ भने पाएका छैनन् । माओवादी केन्द्रमा पछिल्ला दिनमा शर्माले अध्यक्ष प्रचण्डविरुद्ध चर्को बोलिरहेका छन् । शर्माले केन्द्रीय कमिटीदेखि भ्रातृसंगठनसम्म प्रचण्डविरुद्ध धु्रवीकरण भने गराएका छन् । हरेक भ्रातृ संगठनमा दुई धार भएर चुनाव हुन थालेको छ । कतिपय जिल्लामा पनि त्यो अवस्था देखिन थालेपछि प्रचण्डले शर्मालाई साइजमा राख्न खोजेका हुन् । स्थायी कमिटीमा अधिकांशले शर्माले आत्मालोचना गर्नुपर्ने भनेका थिए । खासगरी शर्मालाई दबाबमा राख्न चाहने नेता वर्षमान पुन र शक्ति बस्नेत नै शर्माको विपक्षमात्र उभिएका होइनन्, अध्यक्ष प्रचण्डविरुद्ध बोल्न नपाइने बताएका थिए । 


पुनले प्रचण्डलाई युग पुरुष भएको र उनको आलोचना गर्न नहुने तर्क गरेका थिए । शर्माले प्रचण्डको आलोचना गर्न थालेपछि पुनले यस्तो तर्क गरेका हुन् । पछिल्ला दिनमा पुनको समूह भने कमजोर भएको छ । त्यो समूह प्रचण्डमा विलय भइसकेका कारण पुन फोकटमा प्रचण्डको बचाउमात्रै लागेका छन् । 


स्रोतका अनुसार, प्रचण्डले स्थायी कमिटीमा शर्मालाई एक्लो बनाएजस्तै केन्द्रीय कमिटीमा पनि उनको पक्षमा बोल्ने संभावना कम देखिएको छ । केन्द्रीय सदस्य तथा दह्रो मुटु भएका सांसद सुदन किराती भने शर्माको पक्षमा बोल्ने देखिएको छ । त्यसबाहेक शर्मालाई साथ दिने गरी अहिलेसम्म कसैले बोलेका छैनन् । स्थायी कमिटीमा शर्माको पक्षमा रहेको भनिएका खगराज भट्टले पनि मझधारमा बोलेका थिए । अनि प्रचण्डको विरोधमा रहेको भनिएका नारायणकाजी श्रेष्ठले पनि मौनता राखेका छन् ।


एमाले अध्यक्ष केपी ओलीलाई बालुवाटारमा भेट्न जाने र माओवादीमा बस्न गाह्रो भयो भन्ने शर्मा अनि विद्या भण्डारीलाई भेटेर श्रेष्ठले पनि माओवादीमा बस्न गाह्रो भएको भनेर बताउने गरेका थिए । उनीहरुको यही भूमिका कारण प्रचण्ड यी दुवै नेतालाई साइजमा राख्न चाहन्छन् । स्रोत भन्छ, श्रेष्ठ भने बैठकमा मौनजस्तै देखिए । त्यसैले प्रचण्ड शर्मासँगमात्रै खनिएको पनि माओवादी स्रोतको भनाइ छ । (साँघु साप्ताहिक, २०८२ साउन १९)
 

प्रतिकृया दिनुहोस