काठमाडौँ, २६ साउन : नेपाल कार्टुनिष्ट क्लबले पाँच जना अग्रज कार्टुनिष्टलाई ‘बराथ स्मृति सम्मान’ प्रदान गरेको छ । क्लबले आज यहाँ आयोजना गरेको समारोहमा उहाँहरूलाई सम्मान प्रदान गरेको हो ।
सम्मानित हुनेमा अशोकमान सिंह, जीवन राजोपाध्याय, रविन सायमी, राजेश केसी र अविन श्रेष्ठ रहनुभएको छ । उहाँहरूलाई नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले दोसल्ला ओढाएर कदरपत्रसहित सम्मान प्रदान गर्नुभएको थियो ।
पाँच दशकदेखि नेपाली कार्टुन क्षेत्रमा सक्रिय अग्रज कार्टुनिष्ट सिंहको नेपाली कार्टुनको संस्थागत आधार तयार पार्नमा महत्त्वपूर्ण भूमिका रहेको छ । यस्तै, अर्का कार्टुनिष्ट राजोपाध्याय २०४४ सालमा कामना मासिक पत्रिकाबाट कार्टुनिष्टका रूपमा लाग्नुभएको थियो ।
यस्तै, चार दशकदेखि कार्टुनमा सक्रिय अर्का कार्टुनिष्ट रविन सायमीले दृष्टि साप्ताहिकबाट काम थाल्नुभएको थियो भने राजेश केसी तीन दशकदेखि कार्टुन पत्रकारितामा सक्रिय हुनुहुन्छ । यस्तै, अविन श्रेष्ठ २०५० सालदेखि गोरखापत्रबाट कार्नुन पत्रकारितामा सक्रिय हुनुहुन्छ ।
कार्यक्रममा कुलपति हार्तम्छालीले यसरी सम्मान प्रदान गर्दा कार्टुन कला सिर्जनामा प्रोत्साहन मिल्ने बताउँदै आगामी दिनमा प्रतिष्ठान पनि सहकार्य गरेर कार्टुन कलाको विकासमा लाग्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले आगामी दिनमा कार्टुनलाई एनिमेसनसँग जोडेर लैजानुपर्नेमा जोड दिनुभयो । कृत्रिम बौद्धिकता (एआई) को तीव्रत्तर विकाससँगै कार्टुनलाई पनि सोहीअनुसार रुपान्तरण गर्न जरुरी रहेको कुलपति हार्तम्छालीको भनाइ थियो ।
नेपाल कार्टुनिष्ट क्लबका अध्यक्ष बासु क्षितिजले कार्टुन क्षेत्रको विकास र यसमा लागिरहेका व्यक्तिहरूको सम्मानका लागि आफूहरू थप क्रियाशील हुने बताउनुभयो ।
सम्मान छनोट समितिका सदस्य केशवराज खनालले सम्मानित व्यक्तिका बारेमा जानकारी दिँदै विगतमा विविध कारणले विसं २०७७ देखि २०८१ सम्म रोकिएको सम्मान आज प्रदान गरिएको हो । हरेक वर्ष एक जना कार्टुनिष्टलाई उक्त सम्मान प्रदान गर्ने गरिएको छ ।
अर्का कार्टुनिष्ट अविन श्रेष्ठले २०७० सालमा आफू क्लबको अध्यक्ष भएका बेला स्थापना भएको उक्त सम्मानबाट आज आफैँ सम्माति हुन पाउँदा खुसी लागेको प्रतिक्रिया दिनुभयो ।
---
प्रतिकृया दिनुहोस