काठमाडौं, २७ साउन । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवबीच आज बिहान हात्तीवनस्थित श्रेष्ठ निवासमा भेटवार्ता भएको छ ।
पूर्व उपप्रधानमन्त्री द्वयको उक्त भेटमा वर्तमान राजनीतिक परिस्थितिको गम्भीर समीक्षा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र र समाजवाद उन्मुख समावेशी लोकतन्त्रको संरक्षण तथा सुदृढीकरणमा संघर्षरत शक्तिहरूको भूमिकाबारे विस्तृत छलफल गरिएको बुझिएको छ ।
भेटमा यथास्थितिको अन्त्य, लोकतान्त्रिक उपलब्धिहरूको रक्षा तथा समृद्ध नेपाल निर्माण गर्दै समाजवादको दिशातर्फ अघि बढ्न आवश्यक कदमबारे विचार विमर्श भएको स्रोतले जनाएको छ । साथै, संघर्षशील शक्तिहरूले अहिलेको परिस्थितिलाई सम्बोधन गर्दै सकारात्मक निकासका लागि नयाँ पहल र कदम चाल्नुपर्ने आवश्यकता औँल्याइएको छ ।
आ–आफ्ना कमजोरीका सम्बन्धमा आत्मालोचना गर्दै एकताबद्ध भूमिकामा कसरी अघि बढ्ने भन्ने विषयमा पनि भेटवार्तामा ध्यान केन्द्रित गरिएको बताइएको छ ।
यसअघि श्रेष्ठले नेकपा महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’, नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुषाल र वरिष्ठ नेता झलनाथ खनालसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।
प्रतिकृया दिनुहोस