काठमाडौं । भारत सरकारले नेपालका ६ वटा विद्युत आयोजना मार्फत थप करीब २०० मेगावाट बिजुली किन्ने भएको छ ।
भारतले नेपालबाट थप १९९.७० मेगावाट विद्युत् (बिजुली) आयात गर्न स्वीकृति दिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका प्रवक्ता राजन कुमार ढकालका अनुसार अब नेपालले कुल ११४०.७० मेगावाट बिजुली भारत निर्यात गर्नेछ । यो निर्णय हरियाणा राज्यलाई लक्षित मध्यकालीन सम्झौता अन्र्तगत (चार वर्ष) का लागि गरिएको हो ।
नेपालले लिखु–२ बाट ५०.८९ मेगावाट, लिखु खोला ‘ए’ बाट २८.२० मेगावाट, तल्लो सोलुबाट ८० मेगावाट, ठूलो खोला जलविद्युत आयाोजनाबाट २०.७० मेगावाट, सुपर काबेली खोला ‘ए’ बाट १३.१० मेगावाट र सुपर काबेली खोला जलविद्युत आयोजनाबाट ६.८१ मेगावाट बिजुली भारत निर्यात गर्ने छ ।
यसअघि भारतले नेपालबाट ८१०.९ मेगावाट विद्युत आयात गरिरहेको थियो । भारतले अब थप विद्युत आयात गर्ने भएसँगै नेपालबाट भारतमा १०११ मेगावाट विद्युत निर्यात हुनेछ । जसमा हरियाणा राज्यलाई ४३५.२ मेगावाट बिजुली बिक्री हुनेछ ।
उक्त विद्युत आगामी अक्टोबरसम्म बिक्री गरिने छ र यसको बिक्रीदर प्रतियुनिट ८.७२ रुपैयाँ ७२ हुनेछ । यस बाहेक नेपालले बंगलादेशमा समेत ४० मेगावाट बिजुली विक्री गर्दै आएको छ । नेपाल सरकारको उर्जा विकास मार्गचित्र अनुसार नेपालले सन् २०३५ सम्ममा २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य छ । त्यसमध्ये १५ हजार मेगावाट विद्युत निर्यात गर्ने र बाँकी १३ हजार ५ सय मेगावाट विद्युत देशभित्रै खपत गर्ने लक्ष्य राखिएको छ । प्राधिकरणका अनुसार नेपालले आर्थिक वर्ष २०८१÷८२ मा १७ अर्ब ४५ करोड ९९ लाख रुपैयाँ बराबरको विद्युत भारत निर्यात गरेको थियो भने २ अर्ब ९२ करोड ३१ लाख रुपैयाँको बिजुली आयात गरेको थियो ।
प्रतिकृया दिनुहोस