काठमाडौँ । गुन्डागर्दीको आरोपमा पक्राउ परेका मिलन गुरुङ उर्फ चक्रे मिलनलाई प्रहरीले तेस्रोपटक म्याद थप गर्ने तयारी गरेको छ ।
साउन १६ गते आफ्नो जन्मदिन मनाउने क्रममा होहल्ला र सडक जाम हुने गरी स्कर्टिङ गरेको आरोपमा चक्रे मिलन पक्राउ परेका हुन् । त्यस दिन उनका साथमा रहेका ४७ जनासहित काठमाडौं प्रहरी र अपराध अनुसन्धान कार्यालयको टोलीले महाराजगन्जस्थित होटल साम्बालाबाट नियन्त्रणमा लिएको थियो ।
पक्राउ परेकामध्ये १९ जनालाई अभद्र व्यवहारको आरोपमा मुद्दा चलाइएको छ । प्रहरीले जिल्ला प्रशासन कार्यालयबाट पहिलोपटक सात दिनको अनुमति लिएको थियो भने दोस्रोपटक तीन दिनको अनुमति लिएको थियो । अहिले तेस्रोपटक म्याद थप गर्न थालिएको हो ।
प्रहरी स्रोतका अनुसार, चक्रे मिलनले बयानका क्रममा प्रहरीसँग गुनासो गर्दै भनेका छन्, "हामी म्यानेज गर्दै थियौँ, तर तपाईंहरूले उठाइहाल्नुभो, राम्रोसित केक पनि खान पाएनौँ ।" प्रहरीसँग उनले थपेका छन्, "धेरै हल्लाखल्ला भएको त थिएन, तर अलिकति ढिलो भएको हो ।"
प्रहरीले राति १२ बजेपछि उनीहरूलाई पक्राउ गरेको थियो । चक्रे मिलनसँग भक्तपुर प्रहरी र सरकारी वकिल कार्यालयले पनि बयान लिएका थिए, जहाँ उनले ज्यान मार्ने उद्योगसँगको संलग्नता अस्वीकार गरेका छन् ।
प्रतिकृया दिनुहोस