काठमाडौँ : सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले विकासका लागि राजनीतिक स्थिरता आवश्यक रहेको बताउनुभएको छ । स्वाबलम्बन विकास केन्द्रको ३४औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा सञ्चारमन्त्री गुरुङले विकास र समृद्धिका पक्षमा प्रमुख दुई ठू्रला राजनीतिक दल एक भएर सरकार चलाउनुपरेको बताउनुभयो ।
उहाँले देशमा अहिले स्थिर सरकार भएकाले लगानीको वातावरण बनेको प्रसङ्ग उल्लेख गर्दै रोजगारीसहित आर्थिक समृद्धि र विकासका पक्षमा अग्रसर हुन उद्यमीव्यवसायीसँग अनुरोध गर्नुभयो ।
कार्यक्रममा मन्त्री गुरुङले रु दुई लाख राशिको लघु उद्यमशील विकास पुरस्कार छिमेक लघुवित्त विकास संस्थालाई प्रदान गर्नुभयो । स्वाबलम्बन विकास केन्द्रले यस वर्षका लागि सो पुरस्कार सो संस्थालाई दिने निर्णय गरेको थियो ।
यसैगरी मन्त्री गुरुङले रु दुई लाख राशिको शङ्करमान श्रेष्ठ लघुवित्त पुरस्कार सफल उद्यमीसमेत रहनुभएका सांसद योगेन्द्र मण्डललाई प्रदान गर्नुभयो । सोही अवसरमा जनही रु ५० हजार राशिको उत्कृष्ट लघु उद्यमी सदस्य पुरस्कार विमला थारु, जमुना घिमिरे र आशा बुढामगरलाई प्रदान गरिएको थियो ।
प्रतिकृया दिनुहोस