बाजुरा । जिल्लाको पूर्वी उत्तरी भेगस्थित हिमाली गाउँपालिका–१, बिच्छ्यामा आएको बाढीले कवाडी खोला लघुजलविद्युत आयोजनामा पूर्णरूपमा क्षति पुर्याएको छ । बाढीका कारण लघुजलविद्युत आयोजनामा क्षति पुग्दा यहाँका करिब १२ सयभन्दा बढी घरधुरी प्रभावित भएका छन् ।
लगातारको वर्षापछि खोलामा पानीको सतह असामान्य रूपमा बढ्दा बस्ती नजिकका घर, खेतीयोग्य जमिन र पुल बगाएको थियो । बाढीले विद्युत गृह, नहर र विद्युतीय उपकरणमा क्षति पुर्याउँदा सेवा अवरुद्ध भएको हो ।
बाढीका कारण आयोजनामा पूर्णरूपमा क्षति पुग्दा गाउँपालिकाको वडा नं. ४, ५ र ६ का स्थानीयवासी विद्युत सेवाबाट वञ्चित भएका छन्, गाउँपालिका अध्यक्ष गोविन्द्र मल्लले जानकारी दिनुभयो ।
अध्यक्ष मल्लले भन्नुभयो, “बाढीका कारण कवाडी लघुजलविद्युत आयोजनामा ठूलो क्षति पुगेको छ । जसका कारण गाउँपालिकाका करिब १२ सय घरधुरी विद्युत सेवाबाट प्रभावित भएका छन् ।” बिच्छ्यामा ७ घर र कवाडीमा ११ घर गरी १८ घरमा पूर्ण क्षति पुगेको छ भने खेतीयोग्य जमिन समेत बगाएको छ ।
बाढीले स्थानीयका घर, सरकारी तथा निजी भवन, विद्यालय, वडा नं. १ को वडा कार्यालय भवन, बिच्छ्या मावि, बिच्छ्या स्वास्थ्य चौकी र झोलङ्गे पुललाई उच्च जोखिममा पार्नुका साथै ठुलो क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक (डिएसपी) इकवाल हवारीले जानकारी दिनुभयो ।
यता बाढीबाट प्रभावित पीडितहरूले तत्काल राहत तथा उद्धारको व्यवस्था गर्नुपर्ने माग गरेका छन् । प्रभावित क्षेत्रमा गाउँपालिका अध्यक्ष गोविन्द्र बहादुर मल्ल, उपाध्यक्ष राजकला सार्कीलगायतको टोलीले स्थलगत अनुगमन गरेको छ । अवलोकनपछि पीडितको राहत तथा उद्धारमा जुटिएको हिमाली गाउँपालिकाले जनाएको छ ।
यस्तै बाढीले स्थानीय आइसिंह बोहराको पसल, बाख्राखोरसहित ६० बाख्रा र भीमराज बोहराको बाख्राखोरसहित १० बाख्रा बगाएको छ । प्रशासन कार्यालय बाजुराले बाढी प्रभावितलाई सुरक्षित रहन आग्रह गरेको छ ।
बाढीबाट प्रभावित भएकाहरूलाई राहत र पुनःस्थापनाका कार्य क्षतिको पूर्ण विवरण आएपछि अघि बढाइने प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यायले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रहरीले बाढीबाट भएको क्षतिको विवरण संकलन गरिरहेको छ । शुक्रबारसम्म क्षतिको तथ्याङ्क आउँछ, तत्पश्चात् प्रक्रिया अघि बढाउने छौँ ।”
प्रतिकृया दिनुहोस