काठमाडौँ । मानवको उड्ने रहरलाई वास्तविकतामा बदल्दै चीनमा निर्मित अत्याधुनिक हवाई ट्याक्सी पहिलोपटक नेपाल आइपुगेको छ । भृकुटीमण्डपमा आजदेखि सुरु भएको नाडा अटो शो–१७ मा प्रदर्शनीका लागि राखिएको यो ‘फ्लाइङ ट्याक्सी’ दर्शकको मुख्य आकर्षण बनेको छ ।
चिनियाँ अटोमोबाइल कम्पनी चांगानले इ–हानको प्राविधिक सहयोगमा निर्माण गरेको ‘इ–भिटिओएल’ (इलेक्ट्रिक–भर्टिकल टेक अफ एन्ड ल्यान्डिङ) मोडललाई नेपालमा एमएडब्लू वृद्धि अटोकर्प कम्पनीले ल्याएको हो।
यसअघि नै कम्पनीले ‘दिपल’ ब्रान्डका इलेक्ट्रिक ट्याक्सी नेपाली बजारमा भित्र्याइसकेको थियो । पूर्ण स्वचालित प्रणालीमा सञ्चालन हुने यो ट्याक्सीमा पाइलटको आवश्यकता पर्दैन । यात्रुले गन्तव्य सेट गरेपछि एआई (Artificial Intelligence) ले उडान मार्ग तय गर्छ । आपतकालीन अवस्थामा प्यारासुटमार्फत सुरक्षित अवतरणको व्यवस्था गरिएको छ ।
चीनमा पर्यटकीय स्थलमा व्यावसायिक रूपमा प्रयोग भइरहेको यो ट्याक्सी नेपाली बजारमा तत्काल सर्वसाधारणका लागि उपलब्ध हुने सम्भावना भने न्यून भएको बताइन्छ । यसको मूल्य चीनमा करिब ४ करोड ६६ लाख रुपैयाँ, अन्तर्राष्ट्रिय बजारमा ५ करोड ७४ लाख रुपैयाँ र नेपालमा करिब ७–८ करोड रुपैयाँ पर्ने अनुमान गरिएको छ । तर, आकस्मिक स्वास्थ्य सेवा वा पर्यटन क्षेत्रमा प्रयोग गर्ने सम्भावना भने प्रबल देखिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन गरिएको यो प्रदर्शनीमा अन्य गाडी, मोटरसाइकल र स्कुटरसहित ‘उड्ने ट्याक्सी’ले आकाशमै सवारी गर्ने भविष्यको झलक देखाइदिएको छ ।
यस्तो छ कारको प्राविधिक विशेषता :
१६ मोटर र १६ पंखा — शक्तिशाली प्रोपेलरले हेलिकप्टरझैं जमिनबाटै सिधा उड्छ ।
२५ किलोवाट–घन्टा ब्याट्री — २१ मिनेटसम्म आकाशमा उड्न सक्छ, ३५ किलोमिटर दुरी पार गर्न सक्छ ।
स्पीड १३० किमि/घन्टा — छोटो दुरीमा तीव्र र स्थिर यात्रा ।
२ जना क्षमता — आपतकालीन सेवा वा छोटो सहरी उडानका लागि उपयुक्त ।
६ क्यामरा र सेन्सर — ३६० डिग्री दृश्यसहित अवरोध टार्ने क्षमता ।
प्रतिकृया दिनुहोस