जनकपुर, ४ भदौ । मधेश प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले महोत्तरीको जलेश्वरस्थित प्रादेशिक अस्पतालमा कार्यरत दुई मेडिकल अधिकृतसहित चार स्वास्थ्यकर्मीलाई लिखित स्पष्टीकरण मागेको छ ।
मुख्यमन्त्री सतिशकुमार सिंहको निर्देशनपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, मधेश प्रदेशले अस्पतालका मेडिकल अधिकृतद्वय डा शिखा अधिकारी र डा सद्रे आलम तथा स्टाफ नर्सद्वय मन्दिकाकुमारी यादव र रञ्जिता साहलाई तीन दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको हो ।
सेवाग्राहीलाई उपचारमा समस्या भएको, सेवाप्रवाहमा लापरबाही भएको तथा स्वास्थ्यकर्मीले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह नगरेको सूचनाको आधारमा स्पष्टीकरण माग गरिएको हो । मुख्यमन्त्री सिंहलाई महोत्तरीस्थित विभिन्न सङ्घ सस्थाका प्रतिनिधि र सरोकारवालाले सो अस्पतालमा उपचार सेवा पाउन नसकी जनता अकालमा ज्यान गुमाउन बाध्य भएको व्यहोरा दर्शाउँदै गत मङ्गलबार ज्ञापनपत्र बुझाएका थिए ।
मुख्यमन्त्री सिंहले तत्काल आवश्यक छानबिन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिनुभएको थियो । स्पष्टीकरण सोधिएकामाथि सेवाग्राहीलाई उपलब्ध हुनुपर्ने स्वास्थ्य सेवा नदिएको, आचारसंहितापालना नगरेको तथा कार्यसम्पादनमा लापरबाही गरेको आरोप लागेको छ । तीन दिनभित्र स्पष्ट जवाफ नआए मन्त्रालयले आवश्यक कारबाही अघि बढाउने पत्रमा उल्लेख छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहले सेवाप्रवाहमा लापरबाही गर्ने उपर मन्त्रालयले कारबाही प्रक्रिया अघि बढाउने बताउनुभयो ।
---
प्रतिकृया दिनुहोस